एक महिनामा साढे एक किलोभन्दा बढी सुनसहित ४५ जना पक्राउ

0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनामा एक किलो ६४३ ग्राम सुनसहित ४५ जनालाई पक्राउ गरेको छ ।

विदेशबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने नेपाली यात्रुलाई प्रयोग गरी अवैध रुपमा सुन ओसारपसार गरिएको भन्ने सूचनाका आधारमा सुरक्षा जाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता राजकुमार सिलवालका अनुसार गत साउन १ गतेदेखि भदौ ३१ गतेसम्म विभिन्न समयमा गरिएको सुरक्षा जाँचका क्रममा सुनसहित ४५ जनालाई नियन्त्रणमा लिइएको हो । प्रहरीका अनुसार पक्राउ परेकाको साथबाट एक करोड २५ लाख १८६ बराबरको सुन बरामद भएको छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा बाह्य मुलुकबाट नेपाल फर्किएका केही नेपाली यात्रुलाई ज्यालाको प्रलोभनमा पारी तस्करले सुन भित्र्याउने गरेको पाइएको छ । यात्रुलाई प्रयोग गरी सुन ओसारपसार गराउने गिरोहको गतिविधिमाथि विमानस्थलमा निगरानी बढाइएको प्रहरीको भनाइ छ ।

बरामद सुन तथा पक्राउ परेकाका सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी थप अनुसन्धान भइरहेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । घटनामा संलग्न देखिएकामाथि प्रचलित कानुनबमोजिम कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार