कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छः गगन थापा

0 Shares

सुनसरी । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारसँग कांग्रेस मिलेर काम गर्न चाहेको बताएका छन् ।

सुनसरी कोशी गाउँपालिका १ सिटीहलमा आज कांग्रेस केन्द्रीय प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको कोशी प्रदेश स्तरीय जरा अभियान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताए ।

नागरिकको जनजीविकासहित विभिन्न मुद्दामा नेपाली कांग्रेसले सरकारसँग छलफल, संवाद गरेर कार्य गर्न चाहेको उनको भनाइ थियो ।

सरकारले सञ्चालन गरेको संविधान संशोधनको बहसमा नेपाली कांग्रेसको चित्त नबुझेको बताउँदै संविधान संशोधन परिपक्व ढंगले अगाडि बढाउनुपर्नेमा सभापति थापाले सुझाव दिए ।

कार्यक्रममा कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नेपाली कांग्रेसका नेतृत्व र पार्टीबाट सरकारी पदधारण गरेको व्यक्तिबीच समन्वय आवश्यक रहेको बताए ।

कार्यक्रममा कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले कांग्रेस एक ढिक्का भएर अगाडि बढेको र यसलाई सबैको साझा कांग्रेस बनाउनका लागि सबैलाई आह्वान गरे । उनले पार्टीभित्र रहेका गुटबन्दी अन्त्य भएको समेत बताए ।

सम्बन्धित समाचार