स्वास्थ्य बीमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा

0 Shares

काठमाडौँ । स्वास्थ्य बीमा प्रणालीमा देखिएको अनियमितता र दुरुपयोग नियन्त्रण गर्न सरकार कडाइका साथ अघि बढ्ने भएको छ ।

स्वास्थ्य सचिव विकास देवकोटाले हरेक महिना करिब २ अर्ब रुपैयाँबराबरको बीमादाबी आउने गरेको भन्दै त्यसलाई व्यवस्थित गर्नुपर्ने बताएका छन् ।

‘हरेक महिना करिब २ अर्ब रुपैयाँ बराबरको बीमा क्लेम आइरहेको छ,’ उनले भने, ‘यसलाई व्यवस्थित गर्न किन यति धेरै क्लेम आउँछ भन्ने कुरा बुझ्न जरुरी छ ।’ देवकोटाले बीमा ऐन २०७४ मार्फत स्वास्थ्य सेवा मौलिक अधिकारसँग जोडिएको व्यवस्था भएको उल्लेख गरे । ‘संविधानप्रदत्त मौलिक अधिकारअन्तर्गत स्वास्थ्यसम्बन्धी विषयहरू बीमामा समेटिएका छन्,’ उनले बताए । उनका अनुसार प्रदेश र स्थानीय तहबाट पनि आधारभूत स्वास्थ्य सेवाका लागि बजेट जाने भएकाले कतिपय अवस्थामा दोहोरोपन देखिएको छ ।

‘अर्कोतर्फ प्रदेश र स्थानीय तहमा विभिन्न स्रोतबाट आधारभूत स्वास्थ्य सेवाका लागि बजेट गइरहेको छ,’ उनले भने, ‘यसले कतिपय अवस्थामा दोहोरोपन (डुप्लिकेसन) सिर्जना गरेको छ ।’

देवकोटाले बीमाको दुरुपयोग बढ्दै गएको पनि बताए । ‘केही बिरामीले ‘होल बडी चेकअप’ गर्ने वा एक लाख रुपैयाँसम्मको बीमा रकम जसरी पनि उपयोग गर्ने मानसिकता देखिएको छ,’ उनले भने । उनका अनुसार बीमा रकम अप्ठ्यारो अवस्थामा मात्र प्रयोग गर्नुपर्ने हो, तर अहिले अनावश्यक रूपमा परीक्षणमा प्रयोग भइरहेको छ । ‘त्यो पैसा सामान्य अवस्थामा खर्च गर्ने होइन, अप्ठ्यारो पर्दा राज्यले सहयोग गर्न राखिएको हो,’ उनले भने । देवकोटाले अस्पतालहरूको दररेट व्यवस्थापन पनि समस्याग्रस्त रहेको उल्लेख गरे । ‘निजी र सरकारी अस्पतालको दर मिसाएर बीचको दर निर्धारण गरिएको देखिन्छ,’ उनले भने । देवकोटाले अनियमितता र दुरुपयोग रोक्न बीमा ऐनअनुसार ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको उल्लेख गर्दै उनले यसलाई पनि कडाइका साथ लागू गरिने बताए ।

देवकोटाले बीमा प्रणालीलाई दिगो बनाउन बिरामी, सेवा प्रदायक र सेवा लिने पक्षबीच समन्वय र जिम्मेवार उपयोग आवश्यक रहेको समेत जोड दिए ।

सम्बन्धित समाचार