कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गत रहेको आधारभूत स्वास्थ्य सेवा अस्पताल चन्द्रौटाको करिब ३८ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा प्रहरीले अस्पताल र बैंकका कर्मचारीसहित ५ जनालाई पक्राउ गरेको छ।
आर्थिक वर्ष २०८१/०८२ को आर्थिक कारोबारमा अनियमितता भएको भन्दै शिवराज नगरपालिकाले दिएको उजुरीका आधारमा प्रारम्भिक अनुसन्धान गर्दा ठूलो रकम हिनामिना भएको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार अस्पतालको सेवा शुल्क र फार्मेसीबाट औषधि बिक्रीबापत संकलन भएको रकम नेपाल बैंक लिमिटेडको चन्द्रौटा शाखामा जम्मा गर्ने क्रममा बदमासी भएको पाइएको छ। लेखा परीक्षण गर्दा १२९ थान बैंक भौचर फाइलमा रहे पनि सो बमोजिमको ३८ लाख १९ हजार ७७० रुपैयाँ बैंकमा जम्मा नभएको भेटिएको थियो।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद बेल्बासेले ठगी तथा अपराधिक विश्वासघात सम्बन्धी जाहेरी दिएपछि वडा प्रहरी कार्यालय चन्द्रौटाको टोलीले संलग्न व्यक्तिहरूको खोजी सुरु गरेको थियो। पक्राउ पर्नेहरूमा शिवराज नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ५५ वर्षीय चुडामणी भट्टराई, अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट ३० वर्षीय डा. अमित पाण्डेय र फार्मेसी सहायक ३७ वर्षीया रुक्सना खातुन रहेका छन्।
त्यस्तै, रकम जम्मा गर्ने प्रक्रियामा मिलेमतो गरेको आरोपमा नेपाल बैंक लिमिटेड चन्द्रौटा शाखाका क्यासियर ३४ वर्षीय कमल प्रसाद भण्डारी र सोही बैंकका तत्कालीन कार्यालय सहयोगी ३५ वर्षीय बिक्रम केसीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
पक्राउ परेका पाँचै जनालाई कपिलवस्तु जिल्ला अदालतबाट ठगी तथा अपराधिक विश्वासघात कसुरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ। सरकारी अस्पतालको नक्कली भौचर बनाई संगठित रूपमा ठगी गरेको प्रारम्भिक देखिएकाले यस सम्बन्धमा थप तथ्यहरू खोज्ने काम भइरहेको प्रहरी नायव उपरीक्षक रिपेन्द्र कुमार सिंहले जानकारी दिएका छन्।