अर्थ सचिव डा. घनश्याम उपाध्याय विरुद्ध अख्तियारमा उजुरी: भ्रष्टाचार र स्वार्थको द्वन्द्वको आरोप

0 Shares

काठमाडौँ । अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्याय विरुद्ध भ्रष्टाचार र गैरकानुनी लाभ लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । राजस्व अधिकृत हुँदादेखि नै विभिन्न विवादमा मुछिएका उपाध्यायको गैरकानुनी कार्यको अनुसन्धान माग गर्दै मंगलबार उजुरी नम्बर C-063987 दर्ता भएको हो । उजुरीमा उनलाई तत्काल पक्राउ गरी विस्तृत छानबिन सुरु गर्न माग गरिएको छ ।

उजुरीमा उपाध्यायले नक्कली दीर्घकालीन अपाङ्गता कार्ड बनाएर निजामती सेवाको उपसचिव र सहसचिव पदमा अपाङ्ग कोटाबाट लाभ लिएको गम्भीर आरोप लगाइएको छ । त्यसैगरी, उनले बिचौलिया दीपक भट्टको नेतृत्वमा रहेको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीमा आफ्नी श्रीमती भावना उपाध्यायको नाममा १० हजार कित्ता सेयर लिएको तथ्य पनि उजुरीमा उल्लेख छ । उक्त सेयर उपहारस्वरूप प्राप्त भएको र उपाध्यायलाई अर्थ सचिव बनाउन बिचौलिया भट्टले नै भूमिका खेलेको दाबी गरिएको छ ।

स्वार्थको द्वन्द्वको विषयलाई पनि उजुरीमा प्रमुखताका साथ उठाइएको छ । हाल सम्पत्ति शुद्धीकरण विभागले नेपाल माइक्रो इन्स्योरेन्स र भावना उपाध्यायमाथि अनुसन्धान गरिरहेको अवस्थामा उनकै श्रीमान् विभागको तालुक निकाय अर्थ मन्त्रालयको सचिव पदमा रहनु कानुनविपरीत भएको तर्क गरिएको छ । श्रीमती अनुसन्धानको घेरामा रहने र श्रीमान् सोही निकायको नेतृत्वमा रहने अवस्थाले अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उजुरीमा प्रश्न उठाइएको छ ।

यसबाहेक, राजस्व अधिकृत रहँदा दराज फुटाएर व्यवसायीलाई सहयोग गरेको आरोपमा उपाध्याय तीन महिना प्रहरी हिरासतमा बसेको समेत उजुरीमा खुलाइएको छ । पूर्व अर्थ सचिव रामेश्वर खनालले उनलाई सरकारी सेवाका लागि अयोग्य ठहर गर्दै बर्खास्त गर्न लोकसेवा आयोगलाई पत्राचार गरेको प्रसङ्ग पनि उजुरीमा समेटिएको छ । यी विभिन्न विवाद र भ्रष्टाचारको आरोपमा उनलाई तत्काल पक्राउ गरी सम्पत्ति शुद्धीकरण र भ्रष्टाचार निवारण ऐन बमोजिम छानबिन अघि बढाउन आयोगसँग माग गरिएको छ ।

सम्बन्धित समाचार