पूर्वप्रधानमन्त्रीको हैसियतमा प्रचण्डको सम्बोधन : संसद् भवन हजारौँ सहिदको रगतको जगमा बनेको छ

0 Shares

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान नयाँ संसदलाई समावेशी सहिदहरूको बलिदानको उपज भएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा आज पूर्वप्रधानमन्त्रीको समेत हैसियतमा सम्बोधन गर्दै उनले भने, ‘बाहरिबाट हेर्दा यो भवन सिमेन्ट, इँट र फलामले बनेको छ तर यसको अन्तर्यमा हजारौँ सहिदको बलिदान रहेको छ। हरेक वर्ग, वर्ण, जाति, लिङ्ग र समुदायको प्रतिनिधित्व भएको यो इन्द्रेणी संसदका लागि हिजो हामीले बन्दुक उठायौँ, आन्दोलन ग-यौं।’

उनले भावुक हुँदै थपे, ‘यो भवनको जगमा त्यही शहादत छ। यसका हरेक भित्ता बलिदानले रंगिएका छन्। म इतिहासका ती सबै, सशस्त्र र शान्तिपूर्ण आन्दोलन एवं पछिल्लो जेनजी आन्दोलनसम्मका सहिद, वेपत्ता, घाइते योद्धा र अभियानकर्मीहरुप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु।’

राष्ट्रिय स्वतन्त्र पार्टीको सफलताको प्रशंसा उनले निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले प्राप्त गरेको झन्डै दुई तिहाइको सफलतालाई स्वीकार गर्दै विशेष बधाई दिए । ‘हिजो सत्ता र प्रतिपक्ष दुवै भूमिकामा सहकार्य गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले यो निर्वाचनमा झन्डै दुई तिहाइको सफलता पाएको छ। त्यसका लागि सभापति माननीय रवि लामिछाने र सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहलाई मेरो विशेष बधाइ छ,’ उनको भनाइ थियो।

उनले आफूलाई निर्वाचन परिणामको हिसाबले खुम्चिए पनि वातावरण बनाउन आफ्नो दलले खेलेको भूमिका स्मरण गरे ।

सम्बन्धित समाचार