काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र द म्यासिफ होटल प्रालि (रोयल टुलिप काठमाडौं) बीच होटल कम्पनीलाई सर्वसाधारणमा शेयर निष्कासन (आईपीओ) गर्ने तयारीस्वरूप संस्थागत परामर्श सेवा सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार नबिल इन्भेष्टमेन्टले द म्यासिफ होटललाई निजी कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण गर्न तथा आईपीओ निष्कासनका लागि आवश्यक पूर्वतयारीमा सहजीकरण गर्नेछ ।
सम्झौतापत्रमा द म्यासिफ होटल प्रालिका अध्यक्ष राजेन्द्र शाक्य र नबिल इन्भेष्टमेन्टका प्रमुख कार्यकारी अधिकृत मनीष नारायण जोशीले हस्ताक्षर गरेका छन् ।
ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप काठमाडौं फ्रान्सेली अन्तर्राष्ट्रिय चेन ब्रान्डअन्तर्गत सञ्चालनमा रहेको पाँचतारे होटल हो । होटलमा ३०८ वटा कोठा तथा सुइट, १० वटा साना–ठूला बैठक हल, हेल्थ क्लब, स्पा तथा अन्तर्राष्ट्रियस्तरका रेष्टुरेन्ट सुविधा रहेका छन्।
कम्पनीका अनुसार होटललाई नेपालकै धेरै कोठा भएको होटलमध्ये एक मानिन्छ । आधुनिक संरचना र सुविधासहित सञ्चालनमा रहेको होटलले आतिथ्य सेवा विस्तारलाई प्राथमिकतामा राखेको जनाएको छ ।
नबिल इन्भेष्टमेन्टले आवश्यक पूर्वतयारी पूरा भएपछि नियामक निकायबाट आईपीओ निष्कासनका लागि अनुमति मागिने जनाएको छ ।