परियोजना भनेको के हो ?

0 Shares

परियोजना भनेको के हो ? उदाहरणसहित प्रष्ट पार्दै विकास आयोजना पहिचान गर्ने चरणहरू उल्लेख गर्नुहोस् ।

निर्धारित उद्देश्य हासिल गर्न वा कार्य सम्पादन गर्न निश्चित समय र स्रोत साधनमा तोकिएको गुणस्तरको वस्तु तथा सेवा उत्पादन गर्ने कार्य पद्धतिलाई समग्रमा परियोजना भनिन्छ । परियोजनालाई आयोजनाको नामबाट समेत चिनिन्छ ।

परियोजनाका विभिन्न प्रकार हुन्छन् । सडक, पुल, भवन निर्माण जस्ता निर्माण सम्बद्ध परियोजनादेखि तालिम, अध्ययन, भ्रमण जस्ता मानव संसाधन विकास सम्बद्ध परियोजना विभिन्न नामबाट सञ्चालनमा रहेको पाइन्छ ।

कुनै स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित तीन वर्षको समयावधि निर्धारण गरी बिस करोड लागत अनुमानमा निर्धारित मापदण्डसहितको अस्पताल भवन निर्माण गरी हस्तान्तरण गर्ने गरी कार्य अगाडि बढाएको अवस्थामा यस निर्माण कार्यलाई एक परियोजनाका रूपमा बुझिन्छ ।

विकास आयोजना पहिचान गर्ने चरणहरू

सामान्यता विकास आयोजना पहिचान गर्दा निम्नानुसारका पाँच चरण अवलम्बन गरिन्छ ः

क समस्याको पहिचान तथा विश्लेषण गरी समाधानका विभिन्न विकल्पसहितको सोच तयार गर्ने,

ख विकल्पको लामो सूचीबाट विकासका क्षेत्रगत तथा राष्ट्रिय उद्देश्य र नीतिसँग मेल खाने वा नखाने विकल्प यकिन गरी छोटो सूची तयार गर्ने,

ग स्रोतसाधन, लाभहानि, कार्यान्वयनका बाधा, सीमितता जस्ता विषयको लेखाजोखा गरी उपयुक्त विकल्प छनोट गर्ने,

घ छनोट गरिएका विकल्पको पूर्वसम्भाव्यता अध्ययन गर्ने,

ङ परियोजना अवधारणापत्र विकास गर्ने ।

यसरी विकास आयोजनाको छनोट गरी कार्यान्वयनमा जान सकेमा आयोजनामा अनुशासन कायम भई सार्वजनिक खर्चको प्रभावकारिता बढ्न सक्दछ ।

सम्बन्धित समाचार