संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायधीस सिफारिस बारे छलफल हुने

0 Shares

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको आह्वानमा आज संवैधानिक परिषदको बैठक बस्दैछ । बैठक अपराह्न ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको छ ।

संवैधानिक परिषदका अध्यक्षसमेत रहेका प्रधानमन्त्री शाहको निर्देशनमा बोलाइएको बैठकमा सर्वोच्च अदालतको नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस सम्बन्धमा छलफल हुने बाइएको छ ।

बैठकमा सहभागी हुन सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, प्रतिनिधि सभाका विपक्षी दलका नेता भीमराज आङ्देम्बे र प्रतिनिधि सभाकी उपसभामुख रुवी कुमारीलाई आमन्त्रण गरिएको छ।

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंगलबार मात्रै संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका थिए । नयाँ व्यवस्थाअनुसार अब संवैधानिक परिषद्को बैठक बस्न ६ जनामध्ये चार जना सदस्य उपस्थित भए गणपूरक सङ्ख्या पुग्नेछ । त्यस्तै, परिषद्ले कुनै पनि निर्णय गर्दा तीन जना सदस्यको बहुमत भएमा निर्णय गर्न सकिने कानुनी प्रावधान रहेको छ ।

संवैधानिक परिषद्को संरचनाअनुसार प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलको नेता र प्रधानन्यायाधीश रहनेछन् ।

हाल परिषद्मा प्रधानमन्त्री बालेन्द्र सहित सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बे सदस्य रहेका छन् । त्यस्तै, सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशको रूपमा परिषद्मा सहभागी हुनेछिन् ।

सम्बन्धित समाचार