काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्दै छ । आज नेपाल नामिवियासँग खेल्ने भएको हो ।
नामिवियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले पराजित गरेको थियो । टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १३२ रनमै अलआउट भएको थियो ।
दोस्रो खेलमा नेपालले विश्वकपमा दक्षिण अफ्रिका र बंगलादेशलाई पराजित गरेको बलियो टोली नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको थियो । नेदरल्यान्ड्सलाई १३७ रनमा अल आउट गर्दै नेपालले १५.२ ओभरमा लक्ष्य पूरा गरेको थियो ।
पहिलो खेलमा हारे पनि नेदरल्यान्ड्सविरुद्ध पुनरागमन गरेको नेपाल उच्च मनोबलमा छ । यसै क्रममा आज नामिवियासँग हारको बदला लिन चाहन्छ, नेपाल । नामिविया फेरि पनि नेपाललाई स्तब्ध पार्ने दाउमा हुनेछ ।
नेपाल र नामिवियाबीच ओडीआईमा ७ खेल भएका छन् । जसमा नेपाल २ खेलमा विजयी र ४ खेलमा पराजित भएको छ । आजको खेल बिहान ९ः३० बजे सुरु हुनेछ ।