काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले फागुन २१ को चुनावबाट कम्युनिस्ट आन्दोलनले सबैभन्दा ठूलो धक्का खाएको बताएका छन् । २७ औँ यदु स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो १० वर्षको गम्भीर समीक्षा गर्ने बताए ।
उनले झन्डै दुई तिहाइ बहुमत प्राप्त गर्दा पनि टिकाउन नसक्नुको कारणबारे पनि समीक्षा हुने बताए । विचार, नीति र नेतृत्वमा पुनर्गठन गर्ने पौडेलले दोहोर्याएका छन् ।
उनले भने, ‘हाम्रो नेतृत्व, कार्यशैली, आचरण र अभ्यासमा भएका त्रुटि सच्चाउँछौँ । हामी देशबासीसँग हाम्रो तर्फबाट भएका भूलहरूका बारेमा क्षमायाचना गर्छौँ । र भन्छौँ हामीले भूललाई स्वीकारेका छौँ । कार्यशैली बदलेर फेरि जनताको पक्षमा काम गर्न सङ्कल्प छौँ भनेर भन्छौँ । आन्दोलनलाई नयाँ ढङ्गले अगाडि बढाउँछौँ ।’
उनले नेपालको कम्युनिस्ट आन्दोलनले बेलाबेलामा दक्षिणपन्थी अवसरबाट क्षति पुर्याएको बताए ।