नेकपा कार्यालय पेरिसडाँडामा ४० वर्षमुनिका युवाको ६० प्रतिशत सहभागिता माग गर्दै आमरण अनसन सुरु

0 Shares

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र युवा नेतृत्वको सुनिश्चितताका लागि दबाब दिँदै पार्टी कार्यालय पेरिसडाँडामा आमरण अनसन सुरु भएको छ । नेकपाका युवा नेता भुवन सिंह बिष्टले पार्टीको केन्द्रीय कार्य संयोजन समितिदेखि सेल कमिटीसम्म ४० वर्षमुनिका युवाहरूको ६० प्रतिशत सहभागिताको माग राख्दै शनिबारदेखि अनसन सुरु गरेको हो ।

मुख्य माग र पृष्ठभूमि

अनसनकर्ता बिष्टले पार्टीलाई ‘वृद्धाश्रम’ बन्नबाट जोगाउन र समयानुकूल गतिशील बनाउन युवा सहभागिता अनिवार्य रहेको बताएको छ । उनका मुख्य मागहरू यस प्रकार रहेका छन्स्

-पार्टीका हरेक तह (केन्द्रीय कार्य संयोजनदेखि सेल कमिटीसम्म) मा एकता प्रक्रियामा ४० वर्षमुनिका युवालाई ६० प्रतिशत सहभागी गराउन पर्ने ।

-तीन महिना भित्र सम्पन्न गर्ने गरी विशेष महाधिवेशनको कार्य तालिका तत्काल सार्वजनिक गर्न पर्ने

-महाधिवेशन बाट केन्द्रीय पदाधिकारी प्रत्यक्ष निर्वाचित हुने व्यवस्था गर्न पर्ने

-प्रत्यक्ष तथा समानुपातिक दुवै निर्वाचन प्रणालीमा ४० वर्ष मुनिका युवाहरूलाई उम्मेदवार नबनाउनु पार्टीको कमजोरी भएको विषय सार्वजनिक रूपमा स्वीकार गरियोस्।

-पार्टीका सम्पूर्ण पदाधिकारीहरूको सम्पत्ति विवरण तुरुन्त सार्वजनिक गरियोस्।

आश्वासन पूरा नभएपछि संघर्ष

बिष्टका अनुसार, युवाहरूको मागका सम्बन्धमा गत २०८२ चैत २३ गते पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाइएको थियो । त्यसयता भएका पटक-पटकका छलफलमा नेतृत्वले ‘केन्द्रीय समितिबाट निर्णय गर्ने’ भन्दै आश्वासन दिए पनि वैशाख ३ गतेको बैठकले ठोस निर्णय नगरेपछि आफू कठोर संघर्षमा उत्रनुपरेको उनले प्रस्ट पारे ।

‘हामीले पार्टी बनाउने दायित्वबाट अलग हुन नसकेर यो कदम चालेका हौँ । हालैको प्रतिनिधि सभा निर्वाचनको जनमतले पनि युवा नेतृत्वको आवश्यकतालाई प्रस्ट पारेको छ । पार्टीलाई युवामैत्री र जुझारु नबनाएसम्म मेरो अनसन जारी रहनेछ,’ अनसन स्थलबाट बिष्टले भने ।

कालो ब्यानर र ५ बुँदे माग

पेरिसडाँडामा कालो ब्यानरसहित ५ बुँदे मागपत्र सार्वजनिक गर्दै सुरु भएको यो अनसनले नेकपाभित्र नयाँ तरङ्ग पैदा गरेको छ । देशभरका युवा कार्यकर्ताहरूको प्रतिनिधित्व गर्दै सुरु गरिएको यो अभियानलाई पार्टीले कसरी सम्बोधन गर्छ भन्ने चासोका साथ हेरिएको छ ।

अहिले अनसन स्थलमा विभिन्न जिल्लाबाट आएका युवा नेता तथा कार्यकर्ताहरूको ऐक्यबद्धता बढ्दै गएको छ । पार्टी नेतृत्वले भने यसबारे औपचारिक प्रतिक्रिया दिन बाँकी छ ।

सम्बन्धित समाचार