काठमाडौं । नेपाल ‘ए’ टोलीले क्यानडा–११ लाई दुई विकेटले पराजित गरेको छ । मूलपानी क्रिकेट मैदानमा सम्पन्न एक दिवसीय शृङ्खलाको दोस्रो खेलमा नेपाल विजयी भएको हो । पहिलो खेलमा नेपाल चार विकेटले पराजित भएको थियो ।
टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले ४९.५ ओभरमा अलआउट हुँदै २४० रन बनाएको थियो । क्यानडाले दिएको २४१ रनको लक्ष्य नेपालले ४९.१ ओभरमा आठ विकेट गुमाएर भेट्टाएको हो ।
नेपालका लागि कप्तान सन्दीप जोराले ७४ बलमा ७ चौका र एक छक्का हान्दै ६६ रन बनाए । कप्तान विनोद भण्डारी बिरामी भएसँगै जोरा कप्तानी सम्हाल्ने अवसर पाएका हुन् ।
यस्तै, बसिर अहमदले पनि अर्धशतकीय पारी खेले । बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाउँदा रसिद खान अर्धशतक बनाउन ३ रनले चुके ।
क्यानडाका लागि श्रेयास मोम्भाले सर्वाधिक ६८ रन बनाए । यस्तै, नवनित दलिवालले ४६, श्रीमन्था विजयरत्नेले ४१ र आरोन जोनसनले ३६ रनको योगदान दिए । डिलोन हेलिगरले १६ रन बनाए ।
बलिङतर्फ नेपालका साहब आलमले तीन विकेट लिए । शेर मल्ल र रासिद खानले समान दुई(दुई विकेट लिँदा सागर ढकाल र बसिर अहमदले समान एक(एक विकेट लिए ।