‘सई हुँ’ भन्दै हवल्दारले हवल्दारलाई थर्काएको घटनामा छानबिन सुरू

0 Shares

जनकपुरधाम । आफूलाई ‘सई’ भन्दै अर्का सहकर्मी हवल्दारमाथि गालीगलौज गरेका जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत हवल्दार बुधन महतोमाथि छानबिन सुरु भएको छ । मधेश प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानविन थालेको हो ।

कार्यालयका प्रवक्ता एसएसपी प्रभुप्रसाद ढकालले जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा प्रयोग भएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । उनका अनुसार घटनाको सत्यतथ्य बुझ्न डीएसपी जयशंकर जयसवालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ । समितिले शनिबारदेखि नै काम सुरु गरिसकेको छ ।

प्रवक्ता ढकालले घटनामा संलग्न दुवै प्रहरी कर्मचारीलाई प्रदेश प्रहरी कार्यालयमा बोलाइएको जानकारी दिए । हवल्दार महतोलाई निलम्बन गर्ने प्रक्रियासमेत अघि बढाइएको उनले बताए ।

‘हामीले दुवैबीच के भएको हो भन्ने विषयमा अनुसन्धान सुरु गरेका छौँ,’ उनले भने, ‘दुवै जनालाई प्रदेश प्रहरी कार्यालयमा ल्याएर अनुसन्धान गरिरहेका छौँ ।’ अर्का प्रहरीसँग भएको कुराकानीको अडियो रेकर्ड गरी सामाजिक सञ्जालमा फैलाएको आरोपमा हवल्दार यादवलाई पनि छानविनमा तानिएको हो ।

 

सम्बन्धित समाचार