बिचौलियामाथि अनुसन्धान सुरु भएपछि हिमालयन रि-इन्स्योरेन्सकी सीईओ पौडेल भारत प्रस्थान

0 Shares

काठमाडौँ । विवादित व्यवसायी दीपक भट्टमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान सुरु गरेसँगै हिमालयन रि-इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपासना पौडेल भारत प्रस्थान गरेकी छन् । अनुसन्धानको दायरा फराकिलो बन्दै जाँदा अन्य व्यक्तिहरू पनि तानिने सम्भावना देखिएपछि उनी डेढ साताको बिदा लिएर बैंगलोर गएकी हुन् ।

कम्पनीका प्रवक्ता शिशिर गैरेले भने सीईओ पौडेल उपचारका लागि भारत गएको दाबी गरेका छन्।

बीमा घोटाला र प्राधिकरणको कारबाही

यसअघि ‘जेनजी आन्दोलन’का क्रममा हिल्टन होटलमा भएको तोडफोड र आगजनीपछि बीमा दाबी भुक्तानीमा ‘सेटिङ’ गरेको आरोपमा नेपाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्समाथि कारबाही गरिसकेको छ ।

जरिवाना: नियमविपरीत कार्य गरेको भन्दै कम्पनी र सीईओ पौडेललाई जनही २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

ब्रोकर निलम्बन: दीपक भट्टको लगानी रहेका हिमालयन रि, हिमालयन लाइफ र एलियन्ट पुनर्बीमा ब्रोकरमाथि पनि कारबाही भएको छ। एलियन्टको लाइसेन्स तीन महिनाका लागि निलम्बन गरिएको छ ।

हिल्टन होटल प्रकरण र ४ अर्बको दायित्व

हिल्टन होटलको करिब ४ अर्ब रुपैयाँ क्षति भएको घटनामा पुनर्बीमा दायित्व व्यवस्थापन गर्दा गम्भीर लापरबाही भएको आरोप छ । हिमालयन रि-इन्स्योरेन्सलाई आर्थिक फाइदा पुर्‍याउने उद्देश्यले उक्त दायित्व नियमविपरीत नेपाल रि-इन्स्योरेन्समा सारिएको विषयमा प्राधिकरणले सूक्ष्म छानबिन गरिरहेको छ ।

आन्तरिक विवाद र राजीनामा

कम्पनीभित्रको विवाद चुलिएपछि अध्यक्ष शेखर गोल्छाले यसअघि नै राजीनामा दिइसकेका छन् । पछिल्लो समय व्यवसायी भट्टले कम्पनीकै चेक प्रयोग गरी सेयर खरिद गरेको र त्यसमा सीईओ पौडेलले पदीय मर्यादाविपरीत सहयोग गरेको आशंका समेत गरिएको छ ।

सम्बन्धित समाचार