काठमाडौं । सुशासनसँगै भ्रष्टाचार अन्त्यको माग राख्दै भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकारले सफलतापूर्वक निर्वाचन सम्पन्न गरेको छ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले फागुन २१ गत निर्वाचन सम्पन्न गरी मत परिणामसमेत सार्वजनिक भइसकेको छ ।
निर्वाचनसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा ठूलो दल बनेको छ । निर्वाचनमा रास्वपाले १२५ सिट प्रत्यक्ष र ५७ सिट समानुपातिक गरी कूल १८२ सिट हात पारेको छ । जुन दुई तिहाई नजिक हो । दोस्रो हुने दल नेपाली कांग्रेसले जम्मा ३८ सिटमा खुम्चिएको छ ।
दुई तिहाई सिट पाएको रास्वपाले नवनिर्वाचित सांसदहरूलाई संसदमा कसरी प्रस्तुत हुने?, सांसदको आचरण कस्तो हुने?, सत्तामा बसेर कसरी काम गर्ने? जस्ता विषयामा प्रशिक्षण दिन दुई दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
ललितपुरको होटल रोयल टुलिपमा मंगलबारदेखि सुरु भएको अभिमुखीकरण कार्यक्रमको दोस्रो दिनको सुरूवात योग र ध्यान कक्षासँगै सुरू भएको छ । आजको कार्य तालिकाअनुसार अभिमुखीकरणको अन्त्यमा पार्टी सभापति रवि लामिछानेले समापन मन्तव्य राख्ने कार्यक्रम छ ।
आफ्नो सांसदलाई संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, संसदीय समितिहरूको भूमिका, बजेट तथा कानुन निर्माण प्रक्रिया, साथै निर्वाचन क्षेत्रमा जनतासँग प्रभावकारी सम्बन्ध कायम राख्ने विषयहरूबारे स्पष्ट समक्ष र साझा दृष्टिकोण विकास गर्ने उद्देश्यका साथ रास्वपाले आयोजना गरेको अभिमुखीकरण कार्यक्रम विवादित व्यक्तिको होटल रोयल टुलिपमा आयोजना भएसँगै प्रश्न उठेको छ ।
लतिपुरमा अवस्थित होटल रोयल टुलिप १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । ३०२ कोठा रहेको यो होटल भारतीय व्यवसायीसहित नेपाली व्यवसायी राजेन्द्र शाक्यको ६ अर्ब रुपैयाँको लागतमा निर्माण भएको हो । शाक्य गुण समूहका निर्देशकसमेत हुन् ।
शाक्य अध्यक्ष रहेको गुण समूहले रियल स्टेट, हाउजिङ, सिनेमाघर, मोटर पार्टस, व्यवसायिक भवन लगायतका क्षेत्रमा लगानी गरेको छ । गुण समूहले सञ्चालन गरेको गुण एयरलाइन्स भने अहिले बन्द छ ।
उनले यी कम्पनीमा लगानी गर्न प्रभु बैंकबाट ठूलो रकम निकासा गरी बैंकलाई घाटामा पुर्याउन सहयोग गरेको आरोप छ । योसँगै उनलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)को टोलीले पक्राउ गरी अनुसन्धान सुरू गरेको थियो । उनलाई सिआईबीले गत मंसिर १७ गते पक्राउ गरेको हो ।
उनीमाथि सिआईबीले बैंकिङ कसूर तथा सजाय ऐन, २०६४ अन्तर्गतको आरोपमा पक्राउ गरेको हो । प्रभु बैंकलाई घाटामा लैजाने कुसुम लामासमेत संलग्न रहेको भनिएको ठगी, आपराधिक विश्वासघात र नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गतका कसूरको अनुसन्धान गर्दै जाँदा प्रभु बैंकका कार्यकारी अधिकृत अशोक शेरचनले बैंकलाई हानि पुर्याउने गरी अनियमित कर्जा प्रवाह गरेको तथ्य भेटिएको सीआईबीले जनाएको थियो ।