६५ प्रतिशत मत खस्ने आयोगको अनुमान

0 Shares

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी रहेको बताएका छन् ।

मतदान गरेपछि सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै उनले ७७ वटै जिल्लामा आममतदाताको उत्साहपूर्वक सहभागितामा मतदान भइरहेको बताए ।

‘बिहान ७ बजेदेखि नै व्यवस्थित र उत्साहजनक रुपमा मतदान सुरु भएको छ, मततदाताको उपस्थिति र शान्ति सुरक्षा अत्यन्त राम्रो छ,’ उनले भने, ‘मतपत्र पाएपछि एकदेखि दुई मिनेट भित्र मतदान सकिनेछ ।’

उनले सबै सरोकारवाला मतदाता, राजनीतिक दल र उम्मेदवारलाई उत्साहजनक र शान्तिपूर्ण मतदानमा सहयोग गर्न आह्वान गरे। मतदान सम्पन्न भएलगतै मतपेटिका सङ्कलनपछि मतगणना गरिने उनले जानकारी दिए ।

मतगणना सुरु भएको २४ घण्टाभित्र प्रत्यक्षतर्फको नतिजा सार्वजनिक गर्ने प्रयास आयोगको रहेको उनले बताए । साथै उनले मतदानमा युवाहरुको उत्साहका आधारमा ६५ प्रतिशत भन्दा बढी मत खस्ने अनुमान गरिएकोे बताए ।

सम्बन्धित समाचार