काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले वामपन्थी एकतामा जोड दिएका छन् । भक्तपुर क्षेत्र नं.२ मा नेकपा एमालेसँग आबद्ध व्यक्तिहरुलाई नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन् । ‘आजको आवश्यकता भनेको वामपन्थी ध्रुवीकरणकै हो । वामपन्थी एकता आजको एकदमै महत्वपूर्ण आवश्यकता हो,’ उनले भने ।
यसक्रममा प्रचण्डले २०७४ सालको निर्वाचन सम्झिए । त्यसबेला तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्रले मिलेर चुनाव लडेका थिए । ‘हामी २०७४ को निर्वाचनमा एक भएर निर्वाचन लड्यौं । पछि एउटै पार्टी पनि बनायौं । झण्डै दुई तिहाइ एक्लै एउटै पार्टीको भएको थियो । तर, नेतृत्व सही नहुँदा त्यत्रो शक्ति आर्जन गरेर जनताको त्यति ठूलो विश्वास जितेर पनि बचाउन सकिएन,’ उनले भने ।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि अझ कम्युनिस्टहरूबीच एकता आवश्यक भएको भन्दै प्रचण्डले आफू एकता प्रक्रियामा रहेको बताए ।