काठमाडौँ । निर्वाचन आयोगले फागुन १८ गते राती १२ बजेसम्म उम्मेदवारले चुनाव प्रचारप्रसार गर्न पाउने समय तोकेको छ । फागुन २१ गतेको निर्वाचन अघि ४८ अघि नै मौन अवधि हुने भएकाले सोमबार राती १२ सम्मको उम्मेदवारलाई प्रचार गर्न समय दिएको हो । उम्मेदवारले आज(आइतबार) र भोलि(सोमबार) मात्रै चुनाव प्रचार गर्न पाउने भएका हुन् ।
निर्वाचन हुने चार दिन मात्रै वाँकी हुँदा उम्मेदवारले चुनावी प्रचारलाई आक्रमक बनाएका छन् । आफ्नो पक्षमा माहोल बनाउन उम्मेदवार सहित पार्टीका नेता कार्यकर्ता फिल्डमा खटिएका छन् । मौन अवधिमा प्रचार गर्न नपाउने भएकाले आज र भोलि उम्मेदवार समयको सक्दो सदुपयोग गरेर जनताको घरदैलोमा पुगेका छन् ।
मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणनाको काम पूरा नभएसम्म कुनै उम्मेदवार वा राजनीतिक दलको पक्ष वा विपक्षमा मतदान गर्ने वा नगर्ने उद्देश्यले सभा बोलाउन वा आयोजना गर्न, जुलुस निकाल्न वा नाराबाजी गर्न तथा अन्य कुनै पनि प्रकारले प्रचारप्रसार गर्न वा गराउन नहुने भनी आयोगले राजनीतिक दललाई निर्देश गरेको छ ।
आयोगले फागुन ४ गतेदेखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा, सञ्चार माध्यममा कुनै प्रकारको प्रचारप्रसार सामग्री प्रकाशन वा प्रसारण तथा निर्वाचनका लागि घरदैलो कार्यक्रम गरी निर्वाचन प्रचारप्रसार गर्न निर्देशन दिएको थियो ।
यही फागुन २१ गते बिहीबारका दिन सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कार्यक्रम अनुसार सोमबारदेखि सुरु हुने प्रचार प्रसारका कार्यक्रमअघि आज आयोगले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दललाई निर्वाचनको सिलसिलामा कुनै पनि व्यक्तिलाई निर्वाचनमा उम्मेदवारी दिन वा निर्वाचनसम्बन्धी प्रचलित संघीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार प्रयोग गर्नबाट वञ्चित गर्ने उद्देश्यले बाधा अवरोध पुर्याउने वा पुर्याउन लगाउने काम नगर्न निर्देशन दिएका थिए ।
यसैगरी थुनछेक गर्ने वा गराउने, कुनै पनि किसिमको हातहतियार वा विस्फोटक पदार्थ प्रदर्शन वा प्रयोग गर्ने, कुनै किसिमको क्षति पुर्याउने, धाक धम्की वा डर त्रास देखाउने, सामाजिक प्रतिष्ठामा आघात पुर्याउन, सामाजिक बहिष्कार गर्ने वा सामाजिक बहिष्कार गर्न धम्की दिने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नपार्न आग्रह गरिएको छ ।