आठ सयमै भाडामा बाइक दिने ‘आरवाईडी नेपाल’ को पहिलो वर्कसप सञ्चालनमा

0 Shares

काठमाडौँ । नेपाली बजारमा बाइक भाडामा उपलब्ध गराउने एउटा भरपर्दो प्ल्याटर्फमको रूपमा पहिचान बनाउँदै गरेको ‘आरवाईडी नेपाल’ ले आफ्नो पहिलो वर्कसप सञ्चालनमा ल्याएको छ । शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै आरवाईडी नेपालले सेवालाई थप सुदृढ बनाउन अत्याधुनिक वर्कसप कपन, ढलाने ब्रिज नजिँकै सञ्चालनमा ल्याएको हो ।

उक्त वर्कशकको उद्घाटन काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारी गरेका थिए । साथै, उद्घाटन समारोहमा नाडाका पूर्व अध्यक्ष कृष्णप्रसाद दुलाल, एसटीसी ग्रुपका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेती, भेन्चर हायर पर्चेज प्रालिका सीईओ बाबुराम शर्मा, सीजी मोटर्सका सीईओ कपिल सिवाकोटी लगायत अटो क्षेत्रमा सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।

ग्राहकलाई गुणस्तरीय र छिटोछरितो सेवा प्रदान गर्ने उद्देश्यका साथ कम्पनीले आफ्नो पूर्वाधार र सवारी साधनको संख्यालाई मध्यनजर गर्दै वर्कसप सञ्चालनमा ल्याएको आरवाईडी नेपालका अध्यक्ष अभिषेक खतिवडाले जानकारी दिए । उनले उद्घाटन कार्यक्रममा बोल्दै भने, ‘हामीले सुरुदेखि नै सुरक्षित र भरपर्दो सेवा दिने लक्ष्य लिएका छौं, आफ्नै वर्कसप सञ्चालनमा आएपछि सेवा अझ व्यवस्थित र प्रभावकारी हुनेछ, आगामी दिनमा सेवा विस्तार गर्दै शाखा तथा प्राविधिक केन्द्र स्थापना गर्ने योजना बनाएका छौं ।’

सुरुवाती चरणमा हिरो सुपर स्प्लेन्डरका ५० वटा बाइकबाट आफ्नो सेवा यात्रा प्रारम्भ गरेको आरवाईडी नेपालले हाल आफ्नो क्षमता बढाएर १०० वटा पुर्याएको छ । नयाँ वर्कसपमा अनुभवी प्राविधिक टोलीमार्फत बाइकको नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण, पार्ट्स प्रतिस्थापन लगायतका सेवा उपलब्ध गराइने बताइएको छ ।

‘अब कमाउने पालो तपाईंको’ भन्ने नारा राख्दै आएको आरवाईडी नेपाल काठमाडौंका सडकमा हजारौँ युवालाई रोजगारीको अवसर दिने उद्देश्यका साथ नयाँ बाइक भाडामा दिने एक प्लेटफर्म हो ।

राइडरहरूलाई पहिलो दिनदेखि नै कमाइ सुरु गर्ने अवसर दिने यस कम्पनीले प्रतिदिन ८०० रूपैयाँ मात्र भाडा तोकेको छ । यसमा कुनै पनि लुकेको शुल्क वा अतिरिक्त जटिलता नभएको बताइएको छ । आरवाईडी नेपालले राइडरलाई केवल भाडामा मात्र सीमित नगरी, डेढ वर्षमा आफ्नै बाइकको मालिक बन्नसक्ने मोडल पनि तयार गरेको छ । यसले राइडरको भविष्य निर्माणमा सहयोग पुग्ने कम्पनीले अपेक्षा गरेको छ ।

सम्बन्धित समाचार