काठमाडौं । निर्वाचन नजिकिएसँगै नेकपा एमालेले नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग कम्तिमा १० क्षेत्रमा एकता गर्ने हल्ला फैलाएसँगै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापा क्षेत्र नम्बर ५ का उम्मेदवार रञ्जित तामाङलाई फोन गरी कुनै दलहरूसँग सहकार्य नहुने बताएका छन् ।
बिहीबार झापा ५ का उम्मेदवार तामाङलाई टेलिफोन सम्पर्क गर्दै प्रचण्डले सामाजिक सञ्जालमा फैलिएको हल्ला सत्य नभएको भन्दै आफ्नो चुनावी अभियानलाई निरन्तरता दिन निर्देशन दिएका हुन् । प्रचण्डले फोन गरी झापा ५ का उम्मेदवार तामाङलाई आफ्नो अभियानलाई निरन्तरता दिन आग्रह गरेको नेता सुरेन्द्र बस्नेतले जानकारी दिए ।
बस्नेतले भने, ‘भर्खर संयोजक प्रचण्डले झापा ५ का उम्मेदवार रन्जित तामाङलाई फोनमा भन्नुभयो, झापा ५ मा हामी कसैलाई छाड्दैनौँ। सम्पूर्ण शक्तिका साथ तारा जिताउन लाग्ने हो। सबै अफवाहहरु शतप्रतिशत गलत हुन् ।’
झापा ५ मा एमालेका अध्यक्ष केपी शर्मा ओलीकाे उम्मेदवारी रहेको छ । उनी उक्त क्षेत्रबाट पटक-पटक निर्वाचित हुँदै आएका छन् । यस पटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साह (बालेन)सँग कडा प्रतिस्पर्धा हुने देखिएको छ । जसका कारण एमालेले नेकपासँग तालमेल गर्ने भन्दै मतदातालाई भ्रम छर्ने प्रयास गरेको देखिन्छ ।
एमालेले नेकपाविरुद्ध अनावश्यक हल्ला फैलाएसँगै पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन हुने भएको छ । पार्टी कार्यालय पेरिस डाँडामा एमालेले चलाएको भ्रमको खण्डन गर्न पत्रकार सम्मेलन गर्न लागेको हो ।