काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नुवाकोटका नेता अशोककुमार थापाले पार्टी परित्याग गरेका छन् । उनले शनिबार बिहान आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
यसअघि बर्दघाट नगरपालिकाका नेता जीतबहादुर हरिजनले पार्टी परित्याग गरेका थिए । फागुन २१ गते हुने आम निर्वाचनमा नवलपरासी क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रवेश गरेका विक्रम खनाललाई रास्वपाले टिकट दिएपछि असन्तुष्ट बनेका हरिजनले पार्टी छोड्ने निर्णय लिएका हुन् ।
उनीहरूले पार्टीमा विचार र सिद्धान्त च्यूत हुँदै गइरहेको र नेतृत्व नीतिबाट नभई आशिर्वादबाट चयन हुन थालेकाले पार्टी परित्याग गरेको बताएका छन् ।
थापा २०७९ सालको निर्वाचनदेखि रास्वपा नुवाकोटको जिल्ला सदस्य र विदुर नगर इन्चार्जको रुपमा क्रियाशील थिए ।
यस्तै, धनगढी उपमहानगरका संस्थापक नगर सभापति ईश्वरी बिष्टले पनि रास्वपा परित्यागको घोषणा गरेका छन् । २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा कैलाली ५ बाट प्रत्यक्ष उम्मेदवारसमेत बनेका उनले पार्टी परित्याग गर्दै साधारण सदस्यबाट समेत नरहने जानकारी दिएका हुन् ।
उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली ५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए । उनले रास्वपाले ल्याएको युवा राजनीतिमा र जान्नेलाई छान्ने, नातावाद–आशीर्वाद र आर्थिक प्रभावभन्दा माथि उठेर प्राइमरीबाट उम्मेदवार छनोट गर्ने मूल आदर्शबाट प्रेरित भएर पार्टीमा आवद्ध भएको उल्लेख बताएका छन् । तर, पछिल्लो समय पार्टीले अवलम्बन गरेको पद्धति, निर्णय प्रक्रिया र कार्यशैली स्थापना कालीन मूल्य, विधान र सार्वजनिक प्रतिबद्धताभन्दा विपरीत गएको अनुभूति रहेको बताए ।