सल्यान । सल्यानबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रमेश मल्लले ६ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।
उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रअनुसार उत्पादन वृद्धि, उद्यमशीलता र युवा स्वरोजगारलाई मुख्य प्राथमिकता दिएका छन् ।
उनका अनुसार सल्यानबाट वार्षिक अदुवा, सुन्तला, आलु, खसी बोका, टिमुर, ताजा तरकारी गरी साढे तीन अर्ब बराबरको उत्पादन निर्यात हुँदै आएको छ ।
मल्लको प्रतिबद्धता भनिएको छ, ‘सल्यानको उत्पादनलाई वार्षिक ३० प्रतिसतले वृद्धि गर्ने लक्ष्यसहित कार्य योजना निर्माण गरी कृषि, पशुपालन, वन पैदावार, बागवानी, तरकारी लगायतको क्षेत्रमा सीप, ज्ञान, प्रविधि, अनुदान, सहुलियत ऋण र लगानी बढाउने योजनामा हाम्रो बिशेष प्राथमिकता रहने छ ।’
सल्यान जिल्लाबाट उत्पादित कृषिजन्य तथा वन पैदावार उत्पादन, पशुपालन र पर्यटनमा आधारित उद्यमशीलता, साना उद्योग तथा व्यवसाय सञ्चालन गरेर युवा स्वरोजगार सिर्जना गर्न तथा आय आर्जनमा वृद्धि गर्ने उनको उद्देश्य रहेका छन् ।
सल्यानको प्राकृतिक सम्पदा (सल्लाको खोटो), रिठा, तेजपात (दालचिनी), समायो लगायतका जडिबुटीको व्यवस्थित उत्पादन, संकलन र बजारीकरणका लागि पहल गर्ने भनिएको छ ।
जिल्लाका प्रमुख बजार र स्थानीय बजारहरूको आधुनिकीकरण तथा उचित व्यवस्थापनका साथै बसपार्कको व्यवस्था, उद्योग तथा व्यापार र व्यवसायको प्रवर्द्धनका लागि संघ, प्रदेश र स्थानीय तहमा देखिएको दोहोरो कर प्रणालीको अन्त्य गर्दै करदाता साक्षरता र सेवा बिस्तारमा जोड प्रतिवद्धता पत्रमा उल्लेख छ ।