काठमाडौं । देशको संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा आज सार्वजनिक बिदा भएको छ । बागमतीमा आजदेखि तामाङ र नेपाल भाषा (नेवारी) पनि सरकारी कामकाजको भाषाका रुपमा लागू हुने भएको अवसरमा सार्वजनिक बिदा दिएको हो ।
प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषाका रुपमा प्रयोग गर्ने निर्णय गरेको हो ।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समूदाय बढी भएकाले ती समूदायको भाषालाई सरकारको कामकाजको भाषामा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।
आज सोमबार काठमाडौंमा विशेष समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम भएको छ । यस अवसरमा प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
प्रदेशको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते गरेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।