काठमाडौं । नेपालले क्यानडाविरुद्धको एक दिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेको छ । तीन खेलको एक दिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले क्यानडालाई नौ विकेटले पराजित गरेको हो ।
नेपालको जितमा अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेपछि क्यानडामाथि सहज जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २३२ रनको योगफल बनाएको थियो ।
नेपालले २३३ रनको विजयी लक्ष्य एक विकेटको क्षतिमा ४५ औँ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई सात रन तथा दोस्रो खेलमा चार विकेटले पराजित गरेको थियो ।
नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको क्रिकेट शृङ्खला क्लिनस्विप गरेको हो । यसअघि नेपालले ओमानमा पपुवा न्यूगिनविरुद्ध दुई खेलको शृङ्खला २-० ले जितेको थियो ।
आजको खेलमा क्यानडाले प्रस्तुत गरेको २३३ रनको लक्ष्य पच्छाउने क्रममा नेपालका लागि अनिल र भीमले १८९ रनको उत्कृष्ट साझेदारी गरे । यो अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो ।
अनिलले सर्वाधिक ११२ रनको योगदान दिए । उनले १२४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै भीमले १०१ रन बनाए । उनले १२९ बलमा ११ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले १३ रन जोडे । बलिङतर्फ क्यानडाका शाहिद अहमदजैले एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले । उनले ८२ बल खेल्दै पाँच चौकाको मद्धतमा ५० रन बनाए ।
यस्तै, निखिल दत्तले ४५, कप्तान साद बीन जाफरले ३१, हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ तथा श्रीमान्थ विजेरत्नले २२ रन बनाए ।
बलिङतर्फ नेपालका लागि खेलमा डेब्यू गरेका हेमन्त धामीले तीन, कुशल मल्लले दुई तथा ललितनारायण राजवंशी र अकाश चन्दले एक-एक विकेट लिए ।