काठमाडौँ । सेयर बजारमा झण्डै ६ महिनापछि उत्साहजनक कारोबार भएको छ । साताको पहिलो दिन आइतबार नेप्से सूचक ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुग्दा कारोबार रकमले पनि नयाँ उचाइ लिएको छ ।
आइतबार बजारमा ८ अर्ब ४० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यो गत असोज ५ गते (९ अर्ब १ करोड) पछिकै उच्च कारोबार हो । पछिल्लो समय दैनिक औसत २ देखि ७ अर्बको हाराहारीमा हुँदै आएको कारोबारमा आइतबार भने उल्लेख्य वृद्धि देखिएको छ । आज २२४ कम्पनीको मूल्य बढ्दा ३१ को घट्यो भने ५ को स्थिर रह्यो ।
किन बढ्यो बजार ?
मुलुकमा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा आइतबार सेयर बजारमा सबै सूचक बढेका हुन् । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरुले धमाधम उम्मेद्वार घोषणा गरिरहेका छन् । जसले चुनावप्रतिको विश्वास बढेसँगै बजारमा सकारात्मक प्रभाव देखिएको हो ।
यस्तै पुस मसान्तसँगै सूचीकृत कम्पनीहरूले साधारण सभा सम्पन्न गरी लाभांश वितरण गरिसकेका छन् । लाभांश हात पारेका लगानीकर्ता पुनः दोस्रो बजारमा सक्रिय हुनु र बजारमा तरलता सहज हुनुले कारोबार रकमलाई बल पुर्याएको विश्लेषण गरिएको छ ।
कारोबार विवरण आइतबार कारोबारमा आएका ३३८ कम्पनीमध्ये २२४ को सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ। ८ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन भएन ।
सर्किट लाग्ने कम्पनीहरू:
सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, श्रीनगर एग्रिटेक इन्डस्ट्री र गोर्खाज फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै सेन्ट्रल फाइनान्सको ८.८८, गुराँस लघुवित्तको ८.८६, बन्दीपुर केबुलकारको ७.४७ प्रतिशत मूल्य बढ्यो ।
बढी घट्ने कम्पनी: थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ८.७८ प्रतिशतले ओरालो लागेको छ ।
सर्वाधिक कारोबार:
लगानीकर्ताको रोजाइमा मञ्जुश्री फाइनान्स परेको छ, जसको ५३ करोड रुपैयाँ बराबरको सेयर खरिद-बिक्री भयो। त्यस्तै, एसवाई प्यानलको ३७ करोडको कारोबार भएको छ । आज धेरै कारोबार भएका कम्पनीमा एसवाई प्यानल, श्रीनगर एग्रिटेक, बन्दीपुर केबुलकार र राधि विद्युत् छन् ।
सबै समूहगत सूचक बढ्यो
सबै समूहगत सूचक बढेका छन् । फाइनान्स सबैभन्दा धेरै ५.७३ प्रतिशत बढ्यो । त्यस्तै विकास बैंक ३.०३, बैंकिङ ०.८५, होटल तथा पर्यटन २.०२, हाइड्रोपावर ०.७०, लगानी ०.९३, जीवन बीमा १.२५, उत्पादन तथा प्रशोधन २.४२, माइक्रोफाइनान्स १.३१, निर्जीवन बीमा ०.६८, अन्य ०.४५ र व्यापार ०.५४ प्रतिशत बढे ।