काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको विशेष महाविधेशनलाई निर्वाचन आयोगले अवैध भन्न नसक्ने बताएका छन् । सोमबार विशेष महाधिवेशनको बन्द सत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेश गर्दै उनले आयोगले अवैध भन्न नसक्ने दाबी गरेका हुन् ।
‘विशेष महाधिवेशनको आवश्यकता किन पर्यो भनेर व्याख्या गरेको छु, यो विशेष महाधिवेशन वैधानिक छ कि छैन यसको वैधानिक प्रावधान के छ? संविधानले के भन्छ? राजनीतिक दलसम्बन्धी प्रावधान भएको संविधान हाम्रो पनि हो, संविधान भन्दा माथि केही पनि छैन,’ उनले भने, ‘हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणीकरण भएको विधान हो, आज यो विषयबारे कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, निर्वाचन आयोगले एक, दुई, तीन हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन, ढुक्क भएर बस्नुस्।’
उनले विशेष महाधिवेशन कसरी वैधानिक हो भनेर आफ्नो प्रतिवेदनमा राखेको पनि बताए ।