काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीलाई एकताबद्ध गरेर लैजानका लागि आफू प्रतिबद्ध रहेको बताएका छन् । आफूनिकट पार्टीका पदाधिकारी, जिल्ला समिति र कानुन विज्ञसँगको छलफलमा उनले पार्टीलाई विभाजनबाट जोगाउन आफू पार्टीका सबै पक्षसँग निरन्तर छलफल र संवादमा रहेको जानकारी दिए ।
‘म पार्टी सभापति, कार्यवाहक सभापति तथा महामन्त्रीहरुसँग पार्टी कुनै पनि हालतमा विभाजन दिनु हुन्न भनेर कुरा गरिहेको छु, तपाईहरु ढुक्क हुनुस्, पार्टी विभाजन, तपाईहरु पनि त्यसैमा लाग्नुस्, निरास हुने कामै छैन,’ उनले भने ।
छलफलमा पार्टी उपसभापति धनराज गुरुङ, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरु बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, वरिष्ठ अधिबक्ता शेरबहादुर केसी, योगेन्द्र अधिकारी, उपेन्द्रकेशरी न्यौपानेलगायतको सहभागिता रहेको थियो ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरूलाई बोलाएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाएका थिए । देउवाले विशेष महाधिवेशन पक्षले पार्टी फुटाउन प्रयास गरेको दाबी गरेका हुन् । आज बिहान आफूसँग भेट गर्न आएका नेता कार्यकर्तासँग देउवाले यस्तो बताएका हुन् ।
विशेष महाधिवेशन पक्षले बन्दसत्रबाट लिने निर्णयका आधारमा आफूले आवश्यक निर्णय लिने उनको भनाइ छ । संस्थापन पक्षकै केही नेताहरु आज बिहान देउवालाई भेट्न गएका थिए । उनले यो विशेष महाधिवेशन वैधानिक नभएको दाबी गरे ।