कांग्रेसको विशेष महाधिवेशनमा कार्यविधि पारित, नयाँ नेतृत्व चयनको बाटो खुल्यो

0 Shares

काठमाडौं । नेपाली कांग्रेसले ‘विशेष केन्द्रीय महाधिवेशन कार्यविधि, २०८२’ पारित भएको छ । पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई व्यवस्थित गर्न तयार पारिएको कार्यविधिले वर्तमान केन्द्रीय कार्यसमितिको विघटन र नयाँ नेतृत्व चयनको वैधानिक बाटो खुला गरेको हो ।

भृकुटीमण्डपस्थित विशेष महाधिवेशनको बन्द सत्रबाट सोमबार पारित कार्यविधिअनुसार २०७८ साल मंसिरमा सम्पन्न चौधौं महाधिवेशनबाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेको अवस्थालाई मध्यनजर गर्दै सो समिति विघटन गरिने भएको छ ।

कार्यविधिमा १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि पार्टी सञ्चालन गर्न नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने स्पष्ट व्यवस्था गरिएको छ । कार्यविधिले विशेष महाधिवेशनमा पेस हुने प्रस्तावसमेत टुंगो लगाएको छ ।

जसमा समसामयिक राजनीतिक समीक्षा, पार्टीको नीति, विधान संशोधन तथा परिमार्जन र पार्टीको संरचनागत सुधारका विषयमा छलफल हुनेछ । यसैगरी, चौधौं महाधिवेशनपश्चात् विभिन्न मितिमा गठित केन्द्रीय निर्वाचन समिति, अनुशासन समिति र लेखा समितिलाई पनि यसै महाधिवेशनमार्फत विघटन गरिने भएको छ ।

नयाँ नेतृत्व चयन प्रक्रियालाई अघि बढाउन कार्यविधिले विधानको धारा ३५ बमोजिम एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने व्यवस्था गरेको छ । यो समितिले विधानको धारा २१ बमोजिमको केन्द्रीय कार्यसमितिको निर्वाचन गराउनेछ र आफ्ना लागि आवश्यक कार्यविधि तथा निर्देशिका आफैँतय गर्ने अधिकार पाउनेछ ।

सम्बन्धित समाचार