काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेको १२ दिनमै भाँडिएसँगै उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफूहरूलाई धोका दिएको बताएका छन् ।
शनिबार पत्रकार सम्मेलन गरी उनेपा अध्यक्ष कुलमानले रास्वपाले आफूहरूलाई १२ दिनसम्म अल्झाएर नेताहरूलाई पार्टी प्रवेश गराउँदै धोका दिएको बताएका हुन् ।
चुनावी प्रक्रियामा कसरी जाने भन्नेमा लामो छलफल गरी समानुपातिकतर्फ पनि निर्णय गर्न ढिलाइ गरेको घिसिङले बताए । योसँगै उनेपाबाट समानुपातिकतर्फबाट कुनै उम्मेदवार नहुने भएको छ । रास्वपासँग एकता गरी आफ्नो छुट्टै बन्दसूची निर्वाचन आयोगमा दर्ता गराएको छैन ।
‘हामीले सबै त्यागेर अगाडि बढ्नुस् भनेर छाडेका थियौँ,’ उनले भने, ‘यो १२ दिनको लामो समयले उज्यालो नेपाललाई धेरै क्षति पुग्यो, यो १२ दिन अत्यन्तै पीडा भयो, हामीलाई यो १२ दिन इंगेज गराएर राख्नुभयो, हाम्रा धेरै साथीहरूलाई रास्वपा प्रवेश गराउनुभयो ।’
उनले आफूले प्रधानमन्त्री वा पार्टी अध्यक्ष कुनै पद नमागी साधारण सदस्य मात्रै भएर बस्न तयार रहेको बताए । उनले रास्वपालाई अगाडि बढ्न शुभकामना दिँदै आफू नेतृत्वको पार्टीले आफ्नै बाटो लिने बताए ।