जीवन–मरणको घडीमा कोहलपुर उद्योग वाणिज्य संघको साथ, गायक कमल निर्मोहीलाई राहत

0 Shares

नेपालगन्ज । नेपाली सांगीतिक तथा सांस्कृतिक क्षेत्रमा दशकौँदेखि सक्रिय गायक कमल निर्मोही (कमल विक) आज जीवन–मरणको कठिन संघर्षमा छन्। दुवै मिर्गौला फेल भइसकेपछि उनी लामो समयदेखि नियमित औषधि सेवन, चिकित्सकीय निगरानी र निरन्तर उपचारमा रहँदै आएका छन्। रोगले उनको स्वास्थ्यसँगै आर्थिक अवस्था पनि पूर्ण रूपमा कमजोर बनाएको छ।

मञ्च, कार्यक्रम र सांगीतिक प्रस्तुतिबाटै जीवन धानेका निर्मोही स्वास्थ्य समस्याका कारण अहिले सार्वजनिक गतिविधिबाट टाढा छन्। आय–आर्जनका सबै स्रोत बन्द भएपछि उपचार खर्च, औषधि तथा परिवारको दैनिक जीवनयापन चलाउन गम्भीर संकट उत्पन्न भएको परिवारले जनाएको छ।

यही कठिन अवस्थामा उद्योग वाणिज्य संघले गायक निर्मोहीको उपचार सहयोगका लागि ३१ हजार १ सय रुपैयाँ नगद सहयोग प्रदान गरेको छ। साथै, संघले आयोजना गरेको महोत्सवमा निर्मोहीको उपचारका लागि विशेष सहयोग संकलन स्टल समेत स्थापना गरेको छ।
संघका पदाधिकारीहरूका अनुसार कलाकारको पीडालाई व्यक्तिगत नभई समाजको साझा सरोकार बनाउने उद्देश्यले महोत्सव स्थलमै सहयोग संकलनको व्यवस्था गरिएको हो। महोत्सवमा आएका दर्शक, व्यवसायी, कलाकार तथा सर्वसाधारणले आफ्नै क्षमताअनुसार आर्थिक सहयोग गरेका थिए, जसले उपचार प्रक्रियामा केही राहत पुगेको परिवारले जनाएको छ।

सहयोगप्रति आभार व्यक्त गर्दै गायक कमल निर्मोही भावुक बने। उनले भने, “म अहिले स्वास्थ्यसँग लडिरहेको छु, तर समाजले देखाएको माया र साथले फेरि बाँच्ने हिम्मत दिएको छ। म निको भएर फेरि मञ्चमा उभिन चाहन्छु।” उनको यो अभिव्यक्तिले महोत्सव स्थलमा उपस्थित धेरैलाई भावुक बनाएको थियो।

परिवारका अनुसार उपचार प्रक्रिया अझै लामो समयसम्म जारी रहने भएकाले आगामी दिनमा पनि सहयोगको आवश्यकता रहनेछ। यद्यपि समाजबाट प्राप्त साथ, माया र सद्भावनाले यो कठिन समय पार गर्न ठूलो मानसिक बल मिलेको उनीहरूको भनाइ छ।

गीतमार्फत समाजका पीडा, संवेदना र भावनाका कथा सुनाउँदै आएका कमल निर्मोही आज आफैं जीवनको सबैभन्दा कठिन संघर्षमा छन्। उनको उपचारका लागि जुटिरहेको सहयोगले कलाकारप्रतिको सामाजिक जिम्मेवारी मात्र होइन, समाजको मानवीय चेतनालाई पनि उजागर गरेको सरोकारवालाहरू बताउँछन्।

कलाकारको पीडामा समाज एकजुट हुनु सामाजिक उत्तरदायित्व र सहानुभूतिको सशक्त उदाहरण भएको उल्लेख गर्दै उद्योग वाणिज्य संघले आगामी दिनमा पनि आवश्यक सहयोगका लागि पहल जारी राख्ने प्रतिबद्धता जनाएको छ।

सम्बन्धित समाचार