काठमाडौं । क्यानडाविरुद्धको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबारको खेलमा क्यानडालाई चार विकेटले हराएर नेपाल विजयी भएको हो । नेपालको जितमा कप्तान रोहित पौडेल, देव खनाल र अनिल शाहले अर्धशतक बनाए ।
क्यानडाले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा नौ विकेट गुमाएर २८५ रन बनाएको थियो । जवाफी ब्याटिङमा नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाएर २८७ रन बनाउँदै जित हात पारेको थियो ।
नेपालेको जितमा कप्तान रोहित पौडेलले ८७ रनको योगदान गरे । देव खनालले ७६ रन बनाए । ओपनर ब्याट्सम्यान अनिल शाहले ५० रन बनाउँदा भीम सार्कीले २३ र पवन सर्राफले १४ रन जोडे । कुशल मल्ल र सोमपाल कामी नौ–नौ रनमा अविजित रहे ।
पहिले ब्याटिङ गरेको क्यानडाका लागि ओपनर एरोन जोन्सनले ६५ रन बनाएका थिए । नवनित धालिवालले ४६ र श्रेयष मोभाले ४० रन जोडेका थिए ।
परगत सिंहले टोलीको खातामा ३८ रन थपे । नेपाली टोलीका बलर रोहित पौडेल र कुशल मल्लले दुई–दुई विकेट लिए । सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सर्राफले एक–एक विकेट लिएका थिए ।
पेभेलियन फर्किनुअघि अनिलले केवल २० बलमा तीन छक्का र सात चौकाको मद्दतले ५० रन बनाए । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालका लागि सबैभन्दा कम बलमा अर्धशतक पूरा गर्ने ब्याट्सम्यान बने, उनी ।
यस्तै, देव र कप्तान रोहितले टोलीका लागि १५० रनको साझेदारी गरे । नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा तेस्रो विकेटका लागि गरेको यो सबैभन्दा ठूलो साझेदारी हो ।
यसअघि सन् २०२३ को फेब्रुअरी १४ तारिखमा कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमै भएको नामिबियाविरुद्धको खेलमा तेस्रो विकेटका लागि रोहित पौडेल र कुशल भुर्तेलले १३३ रनको साझेदारी गरेका थिए ।