म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नति थालिएको छ ।
अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्षमा ५० लाख बजेट विनियोजन गरी पोखरेबगर-घार-चित्रे सडक स्तरोन्नति थालेको हो ।
यो पोखरादेखि मुस्ताङ जोड्ने वैकल्पिक सडक पनि हो । अन्नपूर्ण गाउँपालिका ६ का वडाध्यक्ष रामबहादुर खड्काले घारको बिरौटा चोकदेखि भुन्या खण्डमा ढलान गर्न थालिएको जानकारी दिए ।
उनले भने, ‘सडक ढलान भएपछि घोडेपानी-पुनहिल घुम्न आउने पर्यटकलाई पनि सहज हुनेछ ।’
२१ किलोमिटर दुरीको यो सडकअन्तर्गत चित्रे-घोडेपानी खण्डको तीन किलोमिटर फराकिलो पार्ने, नाली र टेवा पर्खाल बनाएर स्तरोन्नति गर्ने जनाइएको छ ।
पोखरेबगर-बिरौटा खण्डको कुरमुनी र लुलिया घुम्तीको पहिरो प्रभावित क्षेत्रमा पहिरो रोकथाम र सडक स्तरोन्नति गर्न संघीय सरकारले चालू आर्थिक वर्षमा तीन करोड बिनियोजन गरेको छ ।