काठमाडौँ । नेकपा एमाले अध्यक्षमा भर्खरै केपी शर्मा ओली निर्वाचित भएका छन् । पार्टी नेता ईश्वर पोखरेललाई तिकडम गरेरै ओलीले हराएर तेस्रो पटक अध्यक्षमा निर्वाचित हुन सफल भएका छन् । पार्टीलाई एकलौटी कब्जा गरेर ओलीले १९ पदाधिकारीमध्ये पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेशकुमार भट्टराई मात्रै निर्वाचित हुन सफल भएका छन् । यसलाई पोखरेल पक्षले उपलब्धि नै मानेको छ ।
ओलीले पक्षले पदाधिकारी सहित केन्द्रीय समितिमा शतप्रतिशत मत ल्याएर पोखरेल प्यानलाई ठेगान लगाउने योजना बनाएको थियो । तर, त्यसको ठिक विपरीत पोखरेल पक्षले पदाधिकारी सहित केन्द्रीय समितिमा राम्रा नेता आएपछि ओली र पोखरेल प्यानल पार्टीमा स्पष्ट देखिने भएको छ । ओली निर्वाचित भए लगत्तै पोखरेल प्यानलले कार्की ब्याङ्क्वेटमा गुटको भेला गरेर ओलीलाई चुनौती दिएको छ । भेलामा पोखरेलले भने, ‘हामी विभाजन अस्वीकार गर्छौँ तर आत्मसमर्पण पनि मन्जुर छैन।’ उनले पार्टी अध्यक्ष ओलीको अभिव्यक्तिमाथि प्रश्न उठाएका थिए।
उनले भने, ‘म जे बोल्छु त्यही हो एमाले सुन्दा पनि आङ सिरिङ हुन्छ। म भएन भने एमाले हुन्न यो के भनेको हो।’
ओलीले दशौँ महाधिवेशनमा अध्यक्षका प्रत्याशी भीम रावललाई पार्टीबाट कारबाही गरेर निकालेका थिए । त्यसपछि रावलले आफ्नै नेतृत्वमा मातृभूमि जागरण पार्टी गठन गरेर सक्रिय भएका थिए । त्यसपछि नेकपासँग एकता गरेर छैनौ वरियताको रूपमा सक्रिय भई लागेका छन् ।
यस्तै ११ औँ महाधिवेशनबाट अध्यक्षमा प्रतिस्पर्धा गरेका पोखरेललाई समेत ओलीले समानान्तर भेला गरेको भन्दै कारबाही गर्न सक्ने नेताहरूले आकलन गरेका छन् । पोखरेल पक्ष पनि ओली प्रवृत्तिका विरुद्ध डढेरै सामना गर्ने तयारीमा जुटेको छ । जेनजी आन्दोलनका मुख्य दोषी ओली भएकाले कारबाही हुनुपर्ने पोखर पक्षको अडान छ । ओली पक्षले भने जेनजी आन्दोलनमा आफ्नो नेता दोष नभएको भन्दै प्रतिवाद गर्दै आएको छ । नेतृत्वको रक्षा गर्ने सवालमा समेत एमाले एकताबद्ध हुन सकेको छैन ।
तत्कालीन एमालेका नेता माधवकुमार नेपाल पक्ष पार्टीबाट गएपछि पार्टी एकढिक्क हुने ओली पक्षका धेरै नेता कार्यकर्ताले अपेक्षा गरेका थिए । पार्टीमा झमेला गर्ने गएपछि ओली हाइसन्चो मानेर बस्ने सोचेका थिए । तर, पार्टीको ११ औँ महाधिवेशनमा ओली र पोखरेलले प्यानलै बनाएर चुनावी प्रतिस्पर्धा गरेपछि पार्टी स्पष्ट देखिने गरी दुई चिरामा विभाजित भएको छ । पोखरेल पक्षले केन्द्रदेखि प्रदेश, जिल्ला, पालिकासम्म गुट बनाएर भिड्ने योजना बनाएको छ । यसमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पोखरेल पक्षलाई साथ भएकाले ओलीसँग भिड्न सजिलो हुने बताएको छ ।
एमालेलाई चुनावमा सकस
एमाले अध्यक्ष ओली तेस्रो पटक अध्यक्षमा निर्वाचित भएपछि अधिकांश उनकै पुरानो टिम निर्वाचित भएर आएको छ । यसले आगामी फागुन २१ गतेको निर्वाचनलाई असर पार्ने विश्लेषण हुन थालेको छ । यदि नेपाली कांग्रेस र एमाले मिलेर शक्ति प्रयोग गरेर संसद् पुनर्स्थापना गरे केही समय शक्ति सञ्चय गरेर चुनावमा राम्रो गर्न सक्ने बुझाई छ ।
अहिलेकै अवस्थामा एमाले निर्वाचनमा गए नराम्रोसँग धक्का खाने बताएको छ । एमालेलाई कांग्रेस, नेकपा मात्रै होइन जेनजीको प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी लगायत भर्खरै दर्ता गरेका पार्टीले समेत मुख्य तारो बनाएका छन् । यस्तो अवस्थामा ओली नै तेस्रो पटक अध्यक्ष भएर आएपछि चुनावमा नराम्रोसँग हार हुन सक्ने धेरैको बुझाई छ ।
प्रेस चौतारीको अध्यक्षमा निर्वाचन नभएपछि चुनाव लड्न नपाएका राजेश राईले पार्टी महाधिवेशन अघि लखेको स्ट्याटस मार्मिक लेखेर सचेत गराएका थिए । आफूले जिन्दगीको उर्वर समय बिताए पनि पार्टीमा जे भई रहेको छ त्यो देख्दा मुटु पोल्ने गरेको टिप्पणी गरेका थिए । ‘आज पार्टीमा जे भइरहेको छ, परबाट हेर्दा बेस्सरी मुटु पोल्छ । कसम होला, छाती पोल्छ । पूर्वतिर फर्केर हेर्नुहोस्, हर्क सम्पाङको अभियान आगो जस्तै फैलिएको छ । मधेसमा के भयो, भइरहेको छ ? त्यो भन्नै परेन’ पार्टी कमजोर भएको चिन्ता व्यक्त गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए, ‘बागमतीमा कुलमान घिसिङको गहिरो प्रभाव पर्ने देखिन्छ । सहरी क्षेत्रको कुरै नगरौँ, रवि, बालेनहरु । गण्डकीमा भित्र–भित्र सुधन गुरुङको आगो सल्किरहेको रहेछ, बिस्तारै नजिता हेर्दै जानुहोस् । सुदूर पश्चिममा भीम रावलप्रतिको शुभेच्छा गहिरो देखिन्छ । सिङ्गो एउटा पुस्तालाई आतङ्ककारी भन्दिएकै छौँ । आदिवासी जनजाति, मधेसी, महिला, कर्णालीहरूको चित्त दुखाएकै छौँ । यो आन्दोलन एमाले प्रतिको भरोसा विश्वास नेपाली सेना, सार्वजनिक प्रशासन, अन्तर्राष्ट्रिय समुदाय सबै– सबैसँग टुट्दै गएको देखिन्छ ।’
ओलीप्रति संकेत गर्दै राईले लेखेका छन् अपराधको भारी बोक्नेहरूबाट यो आन्दोलनको सबैभन्दा अगुवा (वर्तमान केन्द्रीय कमिटीमा) ईश्वर पोखरेलहरू अपमानित भइरहेको बताए । पार्टीमा एकपछि अर्को संकट थपिएकाले पार्टी एकताबद्ध हुनुपर्ने आश्वासन राईले गरेका थिए । एमाले अध्यक्षमा ओली पेलेरै अध्यक्षमा निर्वाचित हुँदा पोखरेल पक्ष आक्रोशित हुँदै गएको छ ।
आगामी चुनावमा ओली पक्षले टिकट पाउँदा पोखरेल पक्ष हराउने पोखरेल पक्षले टिकट पाउँदा ओली पक्ष हराउने अवस्था देखिएको छ । यसो गर्दा एमाले आगामी चुनावमा अपेक्षा गरे भन्दा कम सिट ल्याउन सक्ने विश्लेषण छ । अर्को जेनजी आन्दोलनको मुख्य भागिदार एमाले भएकाले चुनावमा एमाले थप रक्षात्मक हुने अवस्था छ । एमालेले आगामी चुनावमा कस्तो रणनीति तय गर्छ त्यसले नै भावी पार्टीको भविष्य तय गर्ने देखिएको छ ।