एमालेमा ओली गुट तितरबितर

0 Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक ११ औँ महाधिवेशन अध्यक्षका लागि प्रतिस्पर्धा गर्न पार्टीकै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसँग प्रतिस्पर्धा गर्न मैदानमा उत्रिएका छन् । पार्टी अध्यक्षको रूपमा एघार वर्ष भूमिका निर्वाह गरेका ओली तेस्रो पटक अध्यक्षको प्रतिस्पर्धामा उत्रिएपछि उनको पुरानो गुट तितरबितर भएको हो ।

ओली गुटमा सधैँ बफादार भई वैचारिक राजनीतिक लेपन लगाएर रक्षा गर्ने पूर्व मन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार महाधिवेशन स्थल भृकुटीमण्डपमा महासचिवको उम्मेदवार नबनाएपछि रोएर घर फर्किनु प¥यो । ओली गुटले उपमहासचिव पदमै उम्मेदवारी दिन आग्रह गरे पनि उनले अटेर गरेर महासचिव पद नै दाबी गरेपछि केन्द्रीय सदस्यमै उम्मेदवारी दिएर घर फर्किए । ओली गुटले दबाब दिएपछि ज्ञवालीले मंगलबार बिहानै सामाजिक सञ्जाल फेसबुकबाटै फेरी ओलीलाई नै अध्यक्षमा जिताउन भोग मागेका छन् । ज्ञवालीले ओलीलाई नै भोट मागे पनि दिलो ज्यान दिएर अध्यक्षमा जिताउन लाग्छन् भन्नेमा धेरैलाई शङ्का छ । बाध्यतामा परेर ज्ञवालीले ओलीलाई भोट मागे पनि उनी बिस्तारै ओली गुटबाट बाहिर जाने निश्चितै देखिएको छ ।

ओली गुटमै लागेर सिकार भएका ज्ञवाली मात्रै होइन अधिकांश नेताहरू पोखरेल गुटमा लागेर चुनाव जित्ने ध्याउन्नमा लागेका छन् । ओली गुटमा लागेर पाखा पारिएका अर्का सचिवका उम्मेदवार गोकुल बास्कोटा हुन । ओलीकै जोडवालमा २०७४ सालको निर्वाचनमा चुनाव जित्नुका साथै सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी समेत सम्हाल्ने अवसर पाए । ओली प्रधानमन्त्री हुँदा उनको गुटले भेट्नै नदिएर लखटेपछि बास्कोटा पोखरेल गुटमा लागेर चुनाव जित्न प्रयासरत छन् ।

ओली गुटमै रहेर सांसद र मन्त्री भएका कानुनी र राजनीतिक तथा मानवअधिकार मामिला सल्लाहकार समेत रहेका अग्नि खरेल पोखरेल प्यानलमा पुगेका छन् । ओली प्यानलबाट पदाधिकारी नपरेपछि सचिवमा उम्मेदवारी दिएका खरेललाई पोखरेल प्यानलले समेटेको छ । स्थायी कमिटी सदस्य रहेका खरेल सचिवका दाबेदार थिए ।

यस्तै, नेकपा एमालेको ११ औँ महाधिवेशनमा स्वतन्त्र ढङ्गले उपमहासचिव पदमा उम्मेदवारी दिएका पूर्व मन्त्री आनन्द पोखरेल ईश्वर पोखरेल प्यानलमा समेटिएका छन् । पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बजैनाथ चौधरीले मात्र उम्मेदवारी दिएका थिए । दुवै जनाले उपाध्यक्षमा उम्मेदवारी दिएपछि आनन्दलाई पोखरेल गुटमा समेट्न सहज भएको हो । आनन्द र बजैनाथ यसअघि ओलीकै टिममा रहेर सक्रिय भई लागेका थिए । तर पछिल्लो समय पूर्व राष्ट्रपति विद्या भण्डारीको सदस्यताको पक्षमा उभिएबापत केही नेताले उनीहरूलाई पदाधिकारीमा ल्याउन अवरोध गरेपछि टाढिएका हुन् ।

ओली गुटमै रहेका पूर्व मन्त्री रघुजी पन्त समेत पोखरेल गुटमा पुगेका छन् । तत्कालीन नेकपामा माधवकुमार नेपाल गुटमा रहेका पन्त एमाले प्रवेश गरेपछि ओली गुटमा पुगेरै शिक्षा मन्त्री भएका थिए । ओली गुटबाट पदाधिकारी हुने अवस्था नभएपछि पन्त पोखरेल गुटबाट उपाध्यक्षको उम्मेदवारी दिएका छन् । पन्तले आफ्नो स्वतन्त्र उम्मेदवारी भनिए पनि पोखरेल गुटको साथ रहेको नेताहरूले बताएका छन् ।

ओली गुटमै रहेका पूर्व शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ पदाधिकारीमा नसमेटिएपछि पोखरेल गुटमा हुत्तिएका छन् । शिक्षा मन्त्री हुँदा श्रेष्ठले प्रधानमन्त्री ओलीलाई फुटबलको पेले जस्तै भएको टिप्पणी गर्दा चर्चा समेत भएको थियो । यसरी ओली गुटमा लागेर जमेर प्रतिवाद गर्ने श्रेष्ठ सचिव पदमा पोखरेल गुटबाट उम्मेदवारी दिएका छन् । यस्तै ओली गुटकै पार्टी प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले प्यानलमा नपरेपछि उपमहासचिव पदमा उम्मेदवारी दिएका थिए । ओली गुटकै जोडवालमा गौतमले उम्मेदवारी फिर्ता लिएका छन् ।

ओली गुटमै रहेका कर्णबहादुर थापाले पोखरेल गुटबाट सचिव पदको उम्मेदवारी दिएका छन् । कुनै समय ओली गुटबाटै राजनीतिमा पकट बनाएका थापा पछिल्लो समय उनीसँग बिच्किएपछि अर्को आलोचना गर्दै आएका छन् । महाधिवेशन अघि नै थापाले ओलीले पार्टीबाट विश्राम लिएर पूर्व राष्ट्रपति विद्या भण्डारीलाई अध्यक्ष बनाउनुपर्ने भन्दै लबिङ गर्दै आएका थिए । ओली गुटबाट पदाधिकारीबाट पाखा लाग्नेको लिस्ट थोरै भए पनि केन्द्रीय समितिमा उल्लेख मात्रामा रहेको छ । ओली गुटकै पेलानमा परेका अधिकांश नेताहरू पोखरेल गुटमा लागेर उनी विरुद्ध माहौल तताएका छन् ।

ओली गुटले जिल्लाबाट प्रतिनिधि छनोट गर्दा आफू निकट धेरै ल्याएकाले जित्न सहज हुने दाबी गर्दै आएका छन् । तर, ओली गुट छिन्नभिन्न भएकाले ११ औँ महाधिवेशनमा चुनाव जित्न कठिन हुन सक्ने प्रतिनिधिहरूले आकलन गरेका छन् ।

सम्बन्धित समाचार