कोहलपुर । कोहलपुर नगरपालिकाले आयोजना गरेको ९औँ कोहलपुर मेयर कप तथा १८औँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद छनोट प्रतियोगिता २०८२ सोमबार औपचारिक रूपमा समापन भएको छ ।
विद्यालय तहका विद्यार्थी खेलाडीको प्रतिभा पहिचान र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्ने उद्देश्यले सञ्चालन गरिएको प्रतियोगिता यस वर्ष पनि उत्साहजनक सहभागिता र प्रतिस्पर्धासहित सम्पन्न भएको हो ।
मंसिर २५ गतेदेखि कोहलपुर नगरपालिका १ स्थित कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालन भएको प्रतियोगितामा नगरभित्रका ५३ विद्यालयका हजारौँ विद्यार्थी खेलाडी सहभागी थिए ।
कृष्ण माविको वर्चस्व, समग्र च्याम्पियन
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै कृष्ण माध्यमिक विद्यालय समग्र च्याम्पियन बन्न सफल भएको छ।
कृष्ण माविले माध्यमिक तह (मा.वि.) तर्फ १५ स्वर्ण, ६ रजत र ६ कास्य र आधारभूत तह (आ.वि.) तर्फ ५ स्वर्ण, २ रजत र १ कास्य पदक जित्दै सर्वाधिक पदकसहित प्रथम स्थान हासिल गरेको हो ।
अन्य विद्यालयको प्रतिस्पर्धात्मक उपस्थिति
माध्यमिक तहतर्फ ग्रीन पिस माध्यमिक विद्यालय १० स्वर्ण, ६ रजत र ३ कास्यसहित दोस्रो र त्रिभुवन माध्यमिक विद्यालय ८ स्वर्ण, ५ रजत र ७ कास्यसहित तेस्रो स्थानमा रहे ।
आधारभूत तहतर्फ कोहलपुर बागेश्वरी माध्यमिक विद्यालय ३ स्वर्ण र ३ रजतसहित दोस्रो हुँदा निम्बल एकेडेमी ३ स्वर्ण, १ रजत र ३ कास्यसहित तेस्रो स्थानमा रहन सफल भए ।
नगद पुरस्कारसहित सम्मान
प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई क्रमशः ७५ हजार, ६५ हजार र ५५ हजार रुपैयाँ नगद, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको थियो ।
समापन समारोहमा विजयी विद्यालय तथा खेलाडीलाई पुरस्कार वितरण गर्दै कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले मेयर कपलाई नगरको आधिकारिक र नियमित प्रतियोगिताको रूपमा विकास गरिएको बताए ।
उनले भने, ‘विद्यार्थीको प्रतिभा पहिचानका लागि खेलकुद प्रभावकारी माध्यम हो, नगरपालिकाले खेलकुद क्षेत्रमा निरन्तर लगानी गर्दै आएको छ। त्यसको सकारात्मक परिणाम अहिले जिल्ला स्तरमै देखिन थालेको छ, यस्ता प्रतियोगिताले भविष्यका सक्षम राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुर्याउँछन्।’
अनुशासन र निष्पक्षतामा कडाइ
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै नगर खेलकुद विकास समितिका संयोजक चक्र चिमाला क्षेत्रीले खेलकुदले विद्यार्थीको शारीरिक स्वास्थ्यसँगै मानसिक, नेतृत्व र अनुशासन विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
उनले केही विद्यालयले फर्जी खेलाडी सहभागी गराएको विषयमा गम्भीर असन्तुष्टि जनाउँदै त्यस्ता विद्यालयमाथि आवश्यक कारबाही गरिएको जानकारी पनि दिए । ‘निष्पक्ष प्रतिस्पर्धा नै खेलकुदको आत्मा हो,’ उनले स्पष्ट पारे।
शिला चौधरी बनिन् सर्वोत्कृष्ट
यस वर्षको मेयर कप प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै कृष्ण माध्यमिक विद्यालय कक्षा ११ मा अध्ययनरत छात्रा शिला कुमारी चौधरीले सबैको ध्यान तान्न सफल भइन् । उनले सो उपाधिसँगै ५१ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्र प्राप्त गरिन् ।
उल्लेखनीय सहभागिता
समापन कार्यक्रममा जनप्रतिनिधि, खेलकुदकर्मी, प्रहरी प्रशासन, विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।