विश्वकप लिग २ को लागि सन्दीपको कप्तानीमा टोली घोषणा, को को परे ?

0 Shares

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ को लागि राष्ट्रिय टोली घोषणा गरेको छ।

क्यानले सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको छ।

जसमा सन्दीपसहित आसिफ शेख, दीपेन्द्र सिंह ऐरी, देव खनाल, ईशान पाण्डे, रोहित पौडेल, अर्जुन कुमाल, सन्दीप जोरा, गुल्सन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललित राजवंशी, साहब आलम र शेर मल्ल छन्।

कुशल भुर्तेल भने यस टोलीमा छैनन्। यही अक्टोबर ७ देखि ओमानमा हुनलागेको लिग २ को यो अन्तिम शृंखला हो।

नेपालले २५ गते आइतबार क्यानडासँग खेल्दै लिग–२ शृंखलाको सुरुवात गर्नेछ। २७ गते मंगलबार घरेलु टोली ओमानसँग खेल्नेछ। ३१ गते शनिबार पुनः क्यानडा र कात्तिक २ गते सोमबार ओमानसँग खेल्दै शृंखलाको अन्त्य गर्नेछ।

लिग २ तालिकामा नेपाल अन्तिमबाट दोस्रो स्थानमा छ। हालसम्म ३२ वटा खेल खेलेको नेपालले ११ वटा मात्रै जित हात पारेको छ। १९ वटा खेल हारेकाले नेपाल शीर्ष ४ मा पर्न ओमानमा हुने खेल जित्नुपर्ने दबाबमा छ। नेपालको हालसम्म २४ अंक मात्रै छ।

यो शृंखलामा नेपालले शीर्ष चारमा स्थान बनाउन नसके विश्वकप छनोट खेल्नका लागि प्लेअफ खेल्नुपर्नेछ।

लिग २ मा १९ जित र १० हारसहित ३६ खेलबाट ४५ अंक बटुलेको स्कटल्यान्ड पहिलो स्थानमा छ। त्यसैगरी २१ जित र १० हारसहित ३२ खेलमा ४३ अंक बटुलेको अमेरिका दोस्रो स्थानमा छ भने नेदरल्यान्ड्स (३८) तेस्रो, ओमान (३१) चौथो, नामिबिया (२८) पाँचौँ, क्यानडा (२५) छैठौँ, नेपाल (२४) सातौँ र यूएई (१८) आठौँ स्थानमा छन्।

सम्बन्धित समाचार