काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा तनावको स्थिति सिर्जना भएको छ। काठमाडौंको भृकुटीमण्डपमा केन्द्रीय कमिटी बैठक बसिरहेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओलीनिकट नेताहरूले फ्लोरबाट पदाधिकारी र केन्द्रीय कमिटीको आकार बढाउन विधान संशोधन प्रस्ताव राखेका छन्।
त्यसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित नेताहरू अष्टलक्ष्मी शाक्य, योगेश भट्टराई, कर्ण थापालगायतले प्रतिवाद गरेका छन्। भट्टराईले आफूले बोल्न समय पाउनुपर्ने माग गरेका छन्।
महाधिवेसन स्थलमा तनाव भएपछि एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू ११ औं महाधिवेशन नलड्ने बताएकी छन् । उनले आज भृकुटीमण्डपमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै ११ औं महाधिवेशनमा आफू कुनै पनि पदमा उम्मेदवार नहुने बताएकी हुन् । ‘म यो ११ औं महाधिवेशन लड्दिनँ, कुनै पनि उम्मेदवार हुन्न,’ उनले भनिन्। उनले पार्टीलाई विधि र विधानसम्मत तवरले सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन्।
स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६ महासचिव १, उपमहासचिव ३, सचिव ७, स्थायी कमिटी ४५, पोलिटब्युरो ९९, केन्द्रीय कमिटी ३०१ सदस्यीय हुने गरी कायम गरिनुपर्ने बताएका छन्।
भदौको विधान महाधिवेशनले यस्तो व्यवस्थालाई सानो आधारमा झारेको थियो।