काठमाडौँ । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मङ्सिर २७ को एमालेको महाधिवेशन उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्ने दाबी गरेका छन् ।
आइतबार सामाजिक सञ्जाल फेसबुकमा नेता ज्ञवालीले १ दिनको उपस्थितिले खास अर्थ राख्छ भने किन उपस्थित नहुने ? भन्दै प्रश्न गर्दै भनेका छन्, ‘आउनुहोस्, मङ्सिर २७ गते दिउँसो भक्तपुर सल्लाघारी जाऔँ र देश बनाउनेलाई हौसला दिऔँ, देश जलाउनेलाई ‘नो’ भनौँ ?’
उनले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनको उदघाटन समारोह पार्टी परिवारका लागि सबैभन्दा ठुलो उत्सव भएको भन्दै लोकतन्त्रका पक्षमा जनताको आवाजको बुलन्द प्रतिध्वनि पनि भएको बताएका छन् ।
‘राजनीतिक पार्टीहरू कमजोर या शिथिल हुँदा त्यस रिक्तताको ठाउँ अराजक शक्तिहरूले लिन खोज्छन् । पार्टीहरूले सक्रिय राजनीतिक हस्तक्षेप नगर्दा प्रतिगामीहरूले टाउको उठाउन खोज्छन्’, ज्ञवालीले लेखेका छन्, ‘जसरी २०६२ मङ्सिर ४ गते नेकपा ९एमाले० ले बुटवलमा गरेको सशक्त जनप्रदर्शनले माघ १९ को शाही ‘कु’ पश्चात् उत्पन्न सन्नाटालाई चिर्दै प्रतिगमनका विरुद्ध ऐतिहासिक आन्दोलनको जग बसालेको थियो, मङ्सिर २७ को उद्घाटन समारोहको जनउपस्थितिले पनि संविधान, लोकतन्त्र र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि निर्णायक मोडका रूपमा भूमिका खेल्नेछ ।’