काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता विवादमा पहिलो किस्ता बुझाएर लाइन जोडेका उद्योगले दोस्रो किस्ता बुझाउन थालेका छन् ।
प्राधिकरणका अनुसार आइतबार थप चार उद्योग गरी कूल ६ उद्योगले दोस्रो किस्ताबापतको रकम बुझाएको हो । डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेर पहिलो किस्ता तिरेका उद्योगी अशोक स्टील, हुलास र हामा स्टीलले दोस्रो किस्ता रकम तिरेका प्राधिकरणले जनाएको हो ।
दोस्रो किस्ता रकम तिर्न पत्राचार गर्न थालेसँगै उद्योगीहरू किस्ताको रकम तिर्न थालेका हुन् । अहिलेसम्म अशोक स्टीलले ६३ लाख रुपैयाँ, हुलास स्टीलले ५० लाख ४३ हजार रुपैयाँ र हामा स्टीलले २० लाख ८९ हजार रुपैयाँ तिरेका छन् ।
यसैगरी शुभश्री अग्नि सिमेन्टले दोस्रो किस्ताबापतको रकम तिरेको छ । कम्पनीले ३ लाख ५३ हजार रुपैयाँ बुझाएको हो ।
प्राधिकरणले लाइन काटेपछि उक्त रकम बराबरको पहिलो किस्ता तिरेका थिए । यसअघि सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टीलले पनि बक्यौताको दोस्रो किस्ता तिरिसकेका छन् ।
लक्ष्मी स्टीलको १९ करोड ३ लाख रुपैयाँ छ भने सर्वोत्तम सिमेन्टको ९ करोड ५७ लाख रुपैया कुल बक्यौता छ । प्राधिकरणले कुल बक्यौतालाई २८ किस्तामा तिर्ने सुविधा दिएको छ ।