कोहलपुर । नेपालका क्रियाशील पत्रकार एवम् सामाजिक अभियन्ता विष्णुप्रसाद बेलबासे लाई प्रतिष्ठित ‘ग्लोबल फोर-एच भिजनरी लिडरसिप अवार्ड’ द्वारा सम्मान गरिएको छ। उहाँलाई काठमाडौँमा भर्खरै सम्पन्न ग्लोबल क्लाइमेट समिट / ५ औँ एशिया फोर-एच नेटवर्क सम्मेलन (Global Climate Summit / 5th Asia 4-H Network Conference) को विशेष समारोहमा यो अवार्ड प्रदान गरिएको हो।
नेपालमा युवा विकासको अन्तर्राष्ट्रिय संस्था फोर-एच (4-H) नेटवर्क को जग बसाल्न र यसको अभूतपूर्व विस्तारमा बेलबासेले पुर्याएको ‘समर्पित सेवा र उत्कृष्ट योगदान’ को उच्च मूल्याङ्कन गर्दै एशिया फोर-एच नेटवर्कले उहाँलाई यो सम्मान अर्पण गरेको हो।
ग्लोबल क्लाइमेट समिटमा अमेरिका, जापान, ताइवान, नेपाल,कोरिया, लगायत १० भन्दा बढी राष्ट्रका वातावरणीय र सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिको अर्थपूर्ण सहभागिता रहेको थियो।
यस अन्तर्राष्ट्रिय मञ्चमा सम्मानित हुने व्यक्तिहरूमध्ये बेलबासे नेपालबाट फोर-एचको नेतृत्वदायी भूमिका निर्वाह गर्ने एक प्रमुख व्यक्तित्व हुनुहुन्छ।
सम्मानपत्रमा बेलबासेको नेतृत्वको प्रशंसा गर्दै भनिएको छ, “नेपालमा फोर-एचको स्थापना र विकासका लागि तपाईंले गर्नुभएको समर्पित सेवा र उत्कृष्ट योगदानको कदर गर्दै, ग्लोबल क्लाइमेट समिट / ५ औँ एशिया फोर-एच नेटवर्क सम्मेलनमा तपाईंलाई फोर-एच ग्लोबल भिजनरी लिडरसिप अवार्ड प्रदान गर्न पाउँदा हामी साँच्चै सम्मानित छौँ।”
उहाँलाई नेपाल सरकारका पूर्व मन्त्री डा. मिनेन्द्र रिजाल र एशिया फोर-एच नेटवर्कका अध्यक्ष लोकराज अवस्थी द्वारा हस्ताक्षरित प्रमाणपत्र प्रदान गरिएको थियो।
यो सम्मानले नेपालको ग्रासरुट तहबाट सुरु भएको युवा सशक्तीकरण अभियानलाई अन्तर्राष्ट्रिय समुदायले गम्भीरतापूर्वक लिएको सन्देश दिएको छ।
के हो फोर-एच? फोर-एच एक विश्वव्यापी युवा विकास कार्यक्रम हो जसले युवाहरूलाई उनीहरूको शीर (Head), हृदय (Heart), हात (Hands) र स्वास्थ्य (Health) को सर्वाङ्गीण विकास गर्नका लागि सीप र नेतृत्व क्षमता प्रदान गर्दछ।
बेलबासेको यो सम्मानले नेपालमा वातावरणीय सचेतना र युवा नेतृत्व विकासको क्षेत्रमा थप ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।