काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय सदस्याको संख्या कम गराएकी छन् । उनका प्रमुख स्वकीय सचिव आर्दश कुमार श्रेष्ठले आफ्नो श्रीमतीसहित नातेदारलाई प्रधानमन्त्रीको सचिवालयमा राखेको खबर बाहिरिएको थियो ।
यसको केही दिनपछि अर्थात आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले एक प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयमा हाल रहेका २० जनामध्ये ६ जना मात्रै राखेर १४ जनालाई हटाएको जानकारी दिएको हो ।
प्रधानमन्त्रीको प्रमुख सचिवालयले श्रीमतीसहित नातेदारलाई सचिवालयमा राखेको समाचार बारिहिएपछि जेनजीलगायत पक्षबाट प्रश्न उठाउँदै आएका थिए । यस क्रममा प्रधानमन्त्रीले आफ्नो स्वकीय सचिवलाई अनावश्यक रुपमा जोडेको भन्दै खण्डन गरेकी थिइन् ।
यसैबीच प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी हुन् । निर्णय भोलि (मंसिर ११) देखि लागू हुने छ ।
‘अब सचिवालयमा मुख्य सल्लाहकार १, जनसम्पर्क सल्लाहकार १, प्रमुख स्वकीय सचिव १, प्रेस संयोजक १, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) १ र जनस्वास्थ्य विज्ञ (अवैतनिक) १ गरी ६ जना मात्र कायम राखी बाँकी सबै पदको नियुक्ति मिति २०८२ मंसिर ११ गतेदेखि लागू हुने गरी खारेज गर्नु भएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।
यसअघि प्रधानमन्त्रीको सल्लाहकार र सचिवालय व्यवस्थापन कार्यविधि, २०७४ (एघारौं संशोधन २०८१) बमोजिम प्रधानमन्त्रीको सचिवालयमा विभिन्न पदका कुल ६६ जनाको दरबन्दी कायम रहे पनि अति जरुरी पदमा मात्र नियुक्ति गरी जम्मा २० जनाको मात्र सचिवालय बनाएको उल्लेख गरिएको छ ।