काठमाडौं । जेनजी आन्दोलनको जगमा बनेको सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने भएको छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्थ भएलगत्तै कार्की नेतृत्वको सरकार गठन भएको हो ।
जेनजी आन्दोलनपछि प्राय सबै दलमा रुपान्तरण र पुनर्गठनको बहस तीव्र गतिमा चलिरहेको छ । तत्कालीन संसदको सबैभन्दा शक्तिशाली दल नेपाली कांग्रेसको शनिबार सकिएको केन्द्रीय समिति बैठकले फागुन २१ गतेको निर्वाचनमा सहभागी हुने निर्णय गरेको छ ।
पार्टी महाधिवेशनका विषयमा ठोस निर्णय कांग्रेसले अझै गर्न सकेको छैन । संस्थापन पक्षले निर्वाचनलगत्तै महाधिवेशन गर्ने पक्षमा उभिएको छ । विपक्ष पक्षले निर्वाचनअघि विशेष महाधिवेशन गरेर जाने अडान लिएको छ । अहिलेकै अवस्थामा पार्टी पुनर्गठन नगरी निर्वाचनमा गए राम्रो नतिजा नआउने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको तर्क छ ।
यस्तै, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले यसअघि नै संसद पुर्नस्थापनाको च्याप्टर क्लोज भएकाले निर्वाचनमा जाने निर्णय गरिसकेको छ । निर्वाचनमा जान १२ कम्युनिष्ट पार्टीसँग एकता गरेर बलियो हुने प्रयास गरेको छ । एकतापछि आगामी ६ महिनाभित्र एकता महाधिवेशन गर्ने नेकपाको निर्णय छ । यता, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय जनमोर्चालगायत दलहरूले निर्वाचनमा जान उम्मेदवार छनोटको विषयमा बहस गर्न थालिसकेका छन् ।
यसको विपरीत अपदस्थ निवर्तमान प्रधानमन्त्री ओली नेतृत्वको नेकपा एमालेले पटक(पटक संसद पुनर्स्थापन गर्नुपर्न माग राख्दै आन्दोलन गर्दै आएको छ। यसैबीच एमाले नेता निरज आचार्यले निर्वाचन आयोगले दिएको सीमाभित्र दल दर्ता गर्ने जानकारी दिए । ‘एमाले निर्वाचनमा जान कुनै समस्या छैन, पार्टीको आन्तरिक छलफल र बहसमा छौँ, आयोगले दिएको समयभित्रै दल दर्ताको प्रक्रियामा जाने छ,’ उनले भने।
तर, एमालेले आधिकारिक रुपमा निर्वाचनमा जाने घोषणा गरेको छैन । पार्टीले तत्कालीन सांसदहरु सबैले सर्वोच्च अदालतमा संसद पुनर्स्थापनाका लागि मुद्दा दायर गर्ने तयारी गरेका छन् । कांग्रेसको केन्द्रीय समिति बैठकले निर्वाचनमा जाने निर्णय गरेपछि एमाले दबाब परेको छ ।

निर्वाचन आयोगमा १२२ वटा दल दर्ता भएका छन् । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन यी दल दर्ता भएकोमा यसबीचमा सात दलको दर्ता खारेज भएको र नयाँ सात दल थपिएको बताउँदै जम्मा १२२ दल आयोगको दर्तामा रहेको बताए ।
प्रवक्ता भट्टराईका अनुसार खारेज भएकाहरूमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएको थियो । अन्य ६ दल नेतृत्वको आग्रहमा खारेज भएका हुन् । उनले २८ वटा दल दर्ता प्रक्रियामा रहेको पनि बताए ।
प्रवक्ता भट्टराईले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि नयाँ दल दर्ता गर्ने आइतबार अन्तिम दिन भए पनि दल दर्ता प्रक्रिया नियमित चलिरहने बताए । दर्ता भएका दलले मंसिर १० गतेसम्म दर्ताको सबै प्रक्रिया पूरा गर्नुपर्ने छ । यदि, मंसिर १० गतेसम्म दर्ता भएका दलले नवीकरण नगरे फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन पाउने छैनन् ।