काठमाडौं । सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन मिति तय गरेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जेनजी आन्दोलनबाट अपदस्थ भएपछि बनेको अन्तरिम सरकारले चुनावी तयारी तीव्र बनाएको हो ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनबाट देशमा ठूलो राजनीतिक हलचल भएपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो । उनी नेतृत्वको सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने गरी तयारी सुरु गरेसँगै नेताहरूले आफूलाई सुरक्षित बनाउन लाग्दै आएका छन् ।
आफ्नो राजनीतिक भविष्य सुरक्षित गर्नका लागि पुरानोदेखि नयाँ दल र नेताहरूबीच ध्रुवीकरण भइरहँदा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित ११ दल तथा संगठन एक भएर नेपाली कम्युनिष्ट पार्टी दर्ता भएको छ ।
यता, पूर्वप्रधानमन्त्री समेत रहेका नेसपा नयाँ शक्तिका डा। बाबुराम भट्टराई, पूर्व माओवादी नेता जनार्दन शर्मा र पूर्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सन्तोष परियारले नयाँ पार्टी गठन गर्ने तयारी गरेका छन् ।
नयाँ दलहरू खुल्ने क्रम तीव्र गतिमा अगाडि बढ्दै गर्दा पुराना दलहरूले पार्टी एकीकरण गरिरहेको छ । तर, यसका विपरीत रास्वपा भने तीव्र रुपमा विभाजन हुँदै आएको छ । २०७९ को प्रतिनिधिसभा निर्वाचन हुनुभन्दा ६ महिनाअगाडि स्थापना भएको रास्वपा सभापति रवि लामिछानेको क्रेजमा चौथो ठूलो दल बनेको थियो ।
संसदमा चौथो ठूलो दल बनेर दोस्रो पटक चुनाव लड्ने तयारी हुँदै गर्दा रास्वपामा संकट गहिरिँदै गएको हो । पार्टीमा सचेतकसमेत बनेका नेता परियारले रास्वपा छाड्नुअघि सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी थिइन् । उनले जेनजी आन्दोलनलगत्तै पार्टी परित्याग गरेकी थिइन् ।
रास्वपा परित्याग गरेसँगै नयाँ पार्टी बनाउने तयारी गरेको नेता परियारले बताए । ‘नयाँ दल गठन गर्ने तयारी भइरहेको छ, नेतृत्वबारे टुंगो लागेको छैन, त्यसमा म, प्रगतिशील राष्ट्रिय अभियानका सुदन किराँती, मानुषी यमी भट्टराईलगायत रहनु हुनेछ,’ उनले भने ।
रास्वपाबाट नेताहरू बाहिरिँदै गर्दा पार्टीको भविष्य संकटमा थपिएको छ । पार्टीभित्र अझै विवाद चुलिँदै जाँदा तोशिमा कार्कीलगायत नेताहरू बाहिरिने तयारीमा छन् । उनीहरूले पार्टीभित्र आफ्नो आवाज राख्दै आएका छन् ।
यता, पार्टी सभापति लामिछाने देशभरका विभिन्न सहकारी ठगीको प्रकरणमा नख्खु कारागारमा छन् । उनले कारागारबाट पार्टी चलाउँदा नेताहरू तीव्र रुपमा बाहिरिने क्रममा रहेका छन् ।