काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको उन्नाइसौं वार्षिक साधारणसभा बिहीबार कास्की जिल्लाको पोखरा महानगरपालिका–स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ। सभाले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ४.५३ प्रतिशत नगद लाभांश (करसहित) गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको बैंकले जनाएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्वीटिमा भएको परिवर्तन लगायतका विवरण पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत स्वीकृत गरिएको छ।
सभाले विशेष प्रस्तावअन्तर्गत बैंकको अधिकृत पूँजी वृद्धि गरी रु. ६ अर्ब १० करोड पु¥याउने निर्णय गरेको छ। त्यस्तै, काठमाडौं महानगरपालिका–३, बालुवाटारस्थित आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्ने, हालको छाप र लोगो परिवर्तन गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित गरिएको छ।
हाल बैंकको चुक्ता पूँजी रु. ५ अर्ब ६८ करोड ५ लाख १७ हजार ३ सय २७ रुपैयाँ ५७ पैसा रहेकोमा, यस साधारणसभाबाट पारित ६ प्रतिशत बोनस शेयर वितरणपछि बैंकको जारी तथा चुक्ता पूँजी रु. ६ अर्ब २ करोड १३ लाख ४८ हजार ३ सय ६७ रुपैयाँ २२ पैसा पुग्नेछ।
गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय र ५१ एटीएम मार्फत सेवा प्रदान गर्दै आएको छ। बैंकले नवीनतम डिजिटल बैंकिङ प्रविधिबाट सरल, सुरक्षित र गुणस्तरीय वित्तीय सेवा ग्राहकहरूलाई प्रदान गर्दै आएको जनाएको छ।