काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रगतिशिल राष्ट्रिय अभियानका संयोजक जनार्दन शर्मा ‘प्रभाकर’ र पुर्नगठित नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पार्टी एकता गरेर बलियो शक्ति हुने दाउमा लागेका छन् ।
विप्लव, जनार्दन र घनश्यामलाई नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले एउटै पार्टीमा रहन बारम्बार अपिल गरेका थिए । उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले घनश्यामबाहेक विप्लव र जनार्दनलाई पार्टी एकतामा आउन निम्तो पठाएका थिए । तर, विप्लव, जनार्दन र घनश्यामले ओली, प्रचण्ड र माधवलाई नै चुनौती दिने गरी पार्टी बनाउन घनिभूत रुपमा लागेका छन् ।
विप्लव राजनीतिमा लागेदेखि सांसद र मन्त्री केही भएका छैनन् । कुनै पनि सार्वजनिक पदमा नबसेका विप्लवको आचरणविपरीत जनार्दन र घनश्याम बारम्बार सांसद मन्त्री भइसकेका छन् । उनीहरु कसलाई नेता मानेर एउटै पार्टी बनाउने भन्ने सवालमा कसैले खुलाएका छैनन् ।
पार्टी बाहिरबाट हेर्दा जनार्दन र घनश्यामले विप्लवलाई नेता मानेर पार्टी बनाउन सक्छन् कि भन्ने आंकलन छ । अहिले तीनै जना आ-आफ्नो पार्टीमा नेता कार्यकर्ता जोड्न देश दौडमा लागेका छन् । अन्तमा मंसिर अन्तिमसम्म पार्टी घोषणा गर्ने नेताहरुले बताएका छन् ।
तीन नेताका चार विकल्प
पहिलो विकल्पः विप्लव, जनार्दन र घनश्यामले सुरुमा प्रचण्ड-माधवलाई नेतृत्व छाडेर दोस्रो पुस्तालाई पार्टी नेतृत्व छाड्न बारम्बार आग्रह गरे । नेतृत्व छाड्न लिखित सहमति गरे पार्टीमै रहने जनार्दन र घनश्यामले सुझावसमेत दिए ।
जेनजी आन्दोलनपछिको विकसित राजनीतिक घटनाक्रमपछि तीन नेताले प्रचण्ड-माधवलाई अभिभावकीय भूमिमा रहेर नेतृत्व छाड्न दबाब दिए । तर, दुवै जनाले नेतृत्व छाड्ने संकेत नदेखाएपछि एउटै पार्टी बनाउने अभियानमा लागेका हुन् ।
मूल पार्टीबाट बाहिरिएका तीन नेताले पार्टी बनाउँदा नेतृत्व कसले लिने भन्ने सवालमा विवाद हुन सक्ने आंकलन गरिएको छ । विप्लवले जनार्दन स्वीकार नगर्ने जनार्दनले विप्लवलाई स्वीकार नगर्ने देखिएको छ । घनश्यामलाई दुवैले स्वीकार गर्न सक्ने अवस्था देखिदैन । यदि, तीन नेता मिलेर पार्टी बनाए तेस्रो वैकल्पिक कम्युनिष्ट शक्ति बन्ने छ ।
यता, विप्लव र जनार्दनलाई माओवादी पृष्ठभूमि भएका नेता कार्यकर्ताले साथ दिने अवस्था कम देखिएको छ । विप्लवमा भएका नेता कार्यकर्ताले समेत छाड्दै गएका छन् भने जनार्दनलाई लामो समय साथ दिएका नेताहरु प्रचण्डसँगै नयाँ पार्टी नेकपामा गएका छन् । अहिले जनार्दनको साथमा पूर्वमन्त्री राम कार्की र सुदन किराँतीले मात्रै साथ दिएका छन् । अरु केही केन्द्रीय सदस्यसहित जिल्लातहका नेता कार्यकर्ता हुने देखिएको छ ।
घनश्यामलाई नेकपा एकीकृत समाजवादीमै लामो समय काम गरेका नेताले छाडेका छन् । एमाले पृष्ठभूमि भएका नेता कार्यकर्ताले साथ दिने अवस्था कम देखिएको छ । त्यसमा नेपाल समाजवादीका नेता पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसहित अरु छुटेका माओवादी र साना कम्युनिष्ट घटकलाई मिलाएमा राम्रो पार्टी बन्न सक्छ । बाबुरामलाई संरक्षक बनाएर तीनै जना मिलेर एक जनाले नेतृत्व गरे तेस्रो धारको कम्युनिष्ट शक्ति बन्ने सम्भावना जीवितै छ । त्यो कति प्रभावकारी बन्छ? भन्ने आगामी निर्वाचनले निर्धारण गर्ने छ ।
दोस्रो विकल्पः यसमा विप्लव, जनार्दन र घनश्यामले जेनजीलाई साथ दिएर पार्टी बलियो बनाउने सम्भावना रहन्छ । जेनजी आफैमा एउटा पुस्ताहरुको आन्दोलन भएकाले कम्युनिष्ट वा अन्य प्रगतिशील केही युवाहरुलाई साथमा लिए पार्टी बन्न सक्छ ।
तर, जेनजीले रुचाएका नेतामा तीनै जना पर्दैनन् । यस्तो अवस्थामा आफ्नै नेतृत्वमा पार्टी बनाएर बलियो शक्ति हुन फलामको चिउरा खानुसरह हुने देखिएको छ ।
तेस्रो विकल्पः यस विकल्पमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङसँग मिलेर पार्टी बनाउने सम्भावना छ । घिसिङलाई जेनजीले मात्रै होइन, जनताले समेत अत्याधिक रुचाएका पात्र भएकाले मिलेर पार्टी बनाए संसदको निर्णायक शक्ति हुन सक्ने देखिएको छ । घिसिङलाई नेतृत्व मानेर जेनजी जान तयार भएकाले उनीहरुसँग मिलेर पार्टी बनाएमा राम्रो हुने अवस्था छ ।
तर, त्यसमा जेनजीले मानेन् भने घिसिङले उनीहरुलाई साथमा लिएर पार्टी बनाउन कठिन हुन सक्छ । घिसिङसहित जेनजी र विप्लव, जनार्दन र घनश्याम मिलेर गए बलियो शक्ति हुन सक्ने सम्भावना अधिक छ ।
चौथो विकल्पः यसमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर तीनै जना एमालेमा एकतामा जाने विकल्प हुन सक्छ । प्रचण्डलाई कमजोर बनाउन निरन्तर लागिरहेकाले तीन जनालाई ओलीले एमालेमा लैजान सक्छन् । एक कार्यकाल तीनै जनालाई स्थापित गरेर ओलीले प्रचण्डलाई साइजमा ल्याउने अस्त्र बनाउन सक्ने अवस्था छ । यस्तो अवस्थामा विप्लव, जनार्दन र घनश्यामको पनि राजनीतिक भविष्य सुरक्षित हुन सक्छ । यो उनीहरू तीनै जनालाई सजिलो विकल्प बन्न सक्छ ।
एमालेमा ओली नै सर्वेसर्भा भएकाले तीनै जनालाई एमालेमा ल्याउन पार्टीमा कुनै समस्या देखिदैन । यता, प्रचण्डसमेत सकेसम्म आफ्नै नेतृत्वमा बलियो पार्टी बनाउने तयारीमा लागेका छन् ।
यदि, पार्टी बलियो हुन नसके ओलीपछि एमालेसहितको एकीकृत पार्टीको नेतृत्व गर्ने प्रचण्डको सपना जीवितै छ । तर, तीनै जना एमालेमा जान्छन् कि जाँदैनन्? यो प्रश्न पनि उत्तिकै दरिलो रहेको छ । यता, ओलीले पार्टीमा चाहेका पद दिन सक्छन् कि सक्दैनन्? त्यो आपसी संवादबाट टुंगिने विषय बन्ने छ ।