कामना सेवा फुट्सल कप सिजन-५ सम्पन्न, सिद्धार्थ बैंक र लुम्बिनी विकास बैंक विजयी

0 Shares

काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको ‘कामना सेवा फुट्सल कप सिजन-५’ शनिबार सम्पन्न भएको छ। पुरुष र महिला दुबै समूहमा उत्कृष्ठ प्रदर्शन गर्दै क्रमशः सिद्धार्थ बैंक र लुम्बिनी विकास बैंक विजयी बनेका छन्।

पुरुष तर्फको फाइनल खेलमा सिद्धार्थ बैंकले प्राइम कमर्सियल बैंकलाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि हात पारेको हो। त्यस्तै, महिला तर्फको फाइनलमा डिफेन्डिङ च्याम्पियन लुम्बिनी विकास बैंकले ग्लोबल आइएमई बैंकलाई १-० ले हराउँदै पुनः उपाधि रक्षा गर्न सफल भएको छ।

कामना सेवा विकास बैंकले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा यो फुट्सल प्रतियोगिता आयोजना गर्दै आएको छ। यस वर्षको प्रतियोगितामा पुरुष तर्फ १७ टिम र महिला तर्फ ९ टिमले सहभागिता जनाएका थिए।

कार्यक्रमको उद्घाटन बैंकका डिसिइओ विनय दाहालले एन्फा रेफ्री अञ्जना सुनुवारलाई बल हस्तान्तरण गरेर गरेका थिए। समापन समारोहमा बैंकका मुख्य सञ्चालन अधिकृत विकास ढुङ्गानाले विजेता तथा उपविजेता टिमहरूलाई ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गर्दै बधाई दिएका थिए।

उक्त प्रतियोगितामा बैंकका विभिन्न विभागीय प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसैबीच, आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा बैंकले कार्तिक २७ गते बिहीबार देशव्यापी रूपमा रक्तदान कार्यक्रम आयोजना गर्ने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार