काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङ आफ्नै नेतृत्वमा पार्टी दर्ता गर्ने तयारी गरेका छन् । केही दिन अघिसम्म मन्त्री घिसिङ कसैको नाममा पार्टी दर्ता गर्ने र फागुन २१ को प्रतिनिधि सभा चुनावभन्दा केही महिनाअघि मात्रै मन्त्रीबाट राजीनामा दिएर वा मन्त्री पदमा कायम रहेरै पार्टीको नेतृत्व गर्ने भन्ने मनस्थितिमा थिए। त्रिविमा अध्यापन गरिरहेका एक प्राध्यापकको नाममा तत्कालका लागि पार्टी दर्ता गर्ने कि भन्नेबारे पनि छलफल भएको थियो।
‘पछिल्ला केही दिन र विशेष गरेर हिजो (आइतबार) भएको छलफलमा आफ्नै नेतृत्वमा अहिले नै पार्टी घोषणा गर्दा ठीक हुन्छ भने त्यही गरौं भन्नेमा उहाँ पुग्नुभएको छ,’ उनीनिकट स्रोतले सेतोपाटीसँग भन्यो, ‘भरे–भोलिसम्ममा यसबारे अन्तिम टुंगो लाग्छ।’
उनले खोल्ने भनिएको नयाँ पार्टी कात्तिक १९ गते (बुधबार) दर्ता गर्ने तय भएको छ। पार्टीको नामबारे अझै छलफल भइरहेको स्रोतले बतायो। पार्टीको नाम उज्यालो नेपाल वा अरू नै राख्ने भन्ने पनि छलफलकै क्रममा रहेको स्रोतको दाबी छ।
उज्यालो नेपाल र चुनाव चिह्न ‘बिजुलीको चिम’ राख्नेमा कुलमान सकारात्मक रहे पनि अहिले टुंगो लागिसकेको छैन। कतिपय सदस्यले भने नेपाल विकास दल राख्न पनि सुझाएका छन्। कुलमानलाई नै अध्यक्ष राखेर पार्टी दर्ता भएमा अरू सबैलाई तत्कालका लागि केन्द्रीय सदस्य मात्रै राखेर जाने सम्भावना रहेको पनि स्रोतले बताएको छ।
कुलमानसँग मिलेर पार्टी खोल्ने छलफलमा अहिलेसम्म रास्वपाकी पूर्वसांसद सुमना श्रेष्ठ, गएको संसदीय निर्वाचनमा डडेल्धुराबाट चुनाव उठेका इन्जिनियर सागर ढकाल, हामी नेपालका संस्थापक अध्यक्ष सुदन गुरूङ, जेनजी युवाहरू प्रवेश दाहाल, सबल गौतम लगायत छन्।