काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले माओवादी विभाजन गरेर जानेलाई कहिलै वैचारिक औचित्य पुष्टी गर्न नसकेको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा सोमबार लेख्दै नेता गजुरेलले प्रचण्डलाई दोषारोपण गर्दै नयाँ बाटो खोज्नेहरु अन्तः माओवादीमै फर्किने गरेको टिप्पणी गरेका हुन् ।
माओवादी पार्टी फुटाएर जानेहरु व्यक्तिगत महत्वकांक्षा, असन्तुष्टि र नेतृत्वको असमझदारी मात्रे भएको गजुरेलले बताए ।
गजुरेलको स्टाटस यस्तो छ
माओवादी पार्टी पटक-पटक विभाजनको सिकार बन्यो । तर ती विभाजनहरू विचारगत कारणले होइन- व्यक्तिगत महत्वाकाङ्क्षा, असन्तुष्टि र नेतृत्त्वसँगको असमझदारीका परिणाम हुन् । यही कारणले ती विभाजनहरूले कहिल्यै वैचारिक औचित्य प्रमाणित गर्न सकेनन् । प्रचण्डलाई दोषारोपण गर्दै ‘नयाँ बाटो’ खोज्नेहरू अन्ततः पुनः उही घेरामा फर्किँदै गएका छन् ।
विडम्बना के छ भने-आज फेरि त्यही विभाजनको नाटक दोहोरिँदैछ। यो केवल विडम्बना होइन, राजनीतिक अपरिपक्वताको चरम प्रदर्शन हो ।
२०४६ सालको जनआन्दोलनपछिको वाम ध्रुवीकरण र चार पार्टी – मशाल, चौ।म, सर्वहारा श्रमिक संगठन र विद्रोही मसाल- बीचको ऐतिहासिक एकताले जनयुद्धका वैचारिक र संगठनात्मक आधार तयार गर्यो, जसले नेपाललाई गणतन्त्रको युगमा प्रवेश गरायो । अब, २०८२ सालको जेनजी आन्दोलनपछिको नयाँ ध्रुवीकरण र आठ वामपन्थी शक्तिबीचको एकताले समाजवादी क्रान्तिका नयाँ आधारहरू निर्माण गर्दै छ ।
इतिहास फेरि दोहोरिँदैछ-तर यसपटकको दिशा गणतन्त्रबाट समाजवादतर्फको युगीन यात्राको हो ।
अहिलेलाई, यही नै पार्टी रूपान्तरण र समाजवादी भविष्यतर्फको एकमात्र सम्भावित बाटो देखिन्छ ।