काठमाडौं । विश्वका ठूला टेक कम्पनीहरूले सन् २०२५ को १० महिनामा ठूलो मात्रामा कर्मचारी कटौती गर्ने योजना बनाइरहेका छन् । वेबसाइट लाएअफस् डट एफवाइईका अनुसार यस वर्ष अहिलेसम्म २१८ कम्पनीहरूले एक लाख १२ हजारभन्दा बढी कर्मचारी निकालेको हो ।
कर्मचारी निकाल्ने कम्पनीहरूमा टाटा कन्सल्टेन्सी सर्भिसेज, माइक्रोसफ्ट र अमेजन जस्ता प्रमुख टेक कम्पनीहरूले भारी मात्रामा कर्मचारी कटौती गरिरहेका छन् । कम्पनीहरूले यी कटौतीहरू एआई प्रविधि, सुस्त अर्थतन्त्रसँगै लागत कटौतीद्वारा संचालित भएको बताएका छन् ।
इन्टेल- विश्वको चिप्समेकर कम्पनी इन्टेलले विश्वभर आफ्नो २२ प्रतिशत कार्य क्षमता घटाउने निर्णय गरेको छ । जसको परिणाम स्वरूप लगभग २४ हजार कर्मचारीले जागिर गुमाएका छन् । अमेरिका, जर्मनी, कोस्टारिका र पोल्याण्ड सबैभन्दा बढी प्रभावित हुने छन् । पीसीको माग घट्दै गएको र एआई दौडमा पछि परेकाले कम्पनीले यो कदम चालेको हो ।
टीसीएस- भारतको सबैभन्दा ठूलो आईटी कम्पनी टाटा कन्सल्टेन्सी सर्भिसेज (टीसीएस)ले सेप्टेम्बर २०२५ सम्ममा १९ हजार ७५५ कर्मचारी हटाउने घोषणा गरेको छ । जुन अहिलेसम्मकै सबैभन्दा ठूलो हो ।
कम्पनीले स्वचालन र एआईमा ध्यान केन्द्रित गर्ने भएकाले मध्यम र वरिष्ठ स्तरका पदका कर्मचारी हटाउने जनाएको हो । टीसीएसको कर्मचारी संख्या अब ६ लाख मात्रै हुनेछ ।
अमेजन- अमेरिकी कम्पनी अमेजनले यो वर्ष १४ हजार कर्मचारी कटौती गरेको छ । विश्वको सबैभन्दा ठूलो ई-वाणिज्य कम्पनी अमेजनले कर्पोरेट कर्मचारी कटौतीको घोषणा गरेको हो ।
यो कम्पनीको इतिहासको सबैभन्दा ठूलो कर्मचारी कटौतीमध्ये एक हो । सीईओ एन्डी ज्यासीले भने कि कम्पनी विश्वको सबैभन्दा ठूलो स्टार्टअप जस्तै सञ्चालित भइरहेको छ । यसले व्यवस्थापन तहहरू घट्दै छन् । मिडिया रिपोर्टहरूका अनुसार यी कटौतीहरू ३० हजारसम्म पुग्न सक्छन् ।
माइक्रोसफ्ट- माइक्रोसफ्टले यस वर्ष ९ हजार कर्मचारीलाई बर्खास्त गरेको छ । जुन यसको कुल कर्मचारीको ४ प्रतिशत हो । यो कदम एआई र क्लाउड लगानी बढाउनका लागि लिइएको हो ।
कम्पनीका अनुसार यसलाई नयाँ प्राविधिक प्रवृत्तिमा लगानी गर्न आवश्यक छ । त्यसैले केही विभागहरूमा कटौती आवश्यक छ ।
गुगल, मेटा, सेल्सफोर्सले पनि हटायो कर्मचारी- गुगलले क्लाउड र एन्ड्रोइड टोलीहरूबाट सयौँ कर्मचारीलाई हटाएको छ । मेटा ९फेसबुक०ले एआई टोलीबाट ६०० जनालाई बर्खास्त गरेको छ ।
सेल्सफोर्सले चार हजार कर्मचारी हटाएको छ । यसको एआई प्रणालीले अब आधाभन्दा बढी ग्राहक च्याटहरू ह्यान्डल गरिरहेको छ ।
यूपीएस- डेलिभरी कम्पनी यूपीएसले ४८ हजार कर्मचारीलाई हटाएको छ । यो संख्या सबैभन्दा धेरै हो । यसमा ३४ हजार सञ्चालन र १४ हजार व्यवस्थापन भूमिकाहरू समावेश थिए । कम्पनीले अमेरिकामा ९३ वटा सुविधाहरू बन्द गरेको छ । अब ४०० एकाइहरूलाई स्वचालित गर्ने योजना बनाएको छ । एजेन्सी